उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं - अहिले देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ । आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहने छ । बिहानको समयमा देशका तराई तथा उपत्य क्षेत्रमा हुस्सु र कुहिरोको समेत सम्भावना रहेको कारण यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
मौसमविद्हरूले यस वर्षको दोस्रो हिउँदे वर्षा प्रणाली शुक्रबार सुदूरपश्चिम क्षेत्रबाट मुलुकमा भित्रिने जनाएका हुन् । पहिलो हिउँदे वर्षा प्रणाली गत सोमबार मुलुकमा प्रवेश गरेको थियो । त्यसैका कारण मंगलबार अपराह्न काठमाडौंमा फाट्टफुट्ट वर्षा भएको थियो । मौसम बुधाबार र बिहीबार भने सफा रह्यो । वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली भई ठाउँ–ठाउँमा हल्का वर्षा हुने सम्भावना छ ।
विभागका अनुसार मौसममा आउने परिवर्तनले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने छ। गत वर्षको हिउँदमा सुदूरपश्चिम र पश्चिम क्षेत्रमा फाट्टफुट्ट वर्षा भए पनि काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा वर्षा गराउने प्रणाली सक्रिय भएन। यस वर्ष भने वर्षायाममा पनि अघिल्लो सालको भन्दा बढी वर्षा भयो । काठमाडौंलगायत केही ठाउँमा वर्षाको नयाँ रेकर्ड बनेको थियो ।
यस वर्ष हिउँदयाम सुरुसँगै क्रमिक रूपमा देशभर तापक्रम घट्दा चिसो बढ्दै गएको छ । चिसो बढेसँगै प्रदूषणको पनि जोखिम देखिएको छ।मौसमविद्हरूका अनुसार जनवरी सबैभन्दा चिसो महिना मानिन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँद याम मान्ने गरिएको छ । प्रदूषणको हिसाबले वर्षा यामभन्दा हिउँद तुलनात्मक रूपमा जोखिमपूर्ण मानिन् छ। हिउँदयाम अर्थात् चिसोमा प्रदूषणको मात्रा बढ्छ, जुन मानव स्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरू बताउँछन् ।