चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त
काठमाडौ - सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो ।
सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । सिनेमालाई हरि हुँमागाईले खिच्ने छन् ।