Nic Ad Nic Ad
Nic Ad Nic Ad

सङ्घीय सरकारमाथि बालेनको अर्को झड्का: तीनकुनेका व्यक्तिका जग्गा कब्जा गरियो

शुक्रबार, पुस १२, २०८१

काठमाडौ  - काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौँदेखि सरकारले लुटेर राखेको बताएका छन्।

सरकारले विभिन्न बाहना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले बताएका हुन्।

‘५० औँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन,’ तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लबको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा शुक्रबार बोल्दै मेयर साहले भने, ‘कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन।’

उनले महोत्सव गर्न कार्यक्रम स्थल उपलब्ध गराएकोमा जग्गा धनीहरूलाई धन्यवाद पनि दिएका थिए।

साथै उनले तीनकुनेका जग्गा धनीहरूलाई मुआब्जाका लागि संघीय सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनेको अहिलेको संघीय सरकारलाई दुई तिहाइ सांसदहरूको समर्थन छ। यसतर्फ लक्ष्य गर्दै मेयर साहले भने, ‘यसपालि त दुई तिहाइको सरकार छ तैपनि केही गरेको छैन। कोही नेता घरमा आएर प्रक्रिया अघि बढेको छ भन्नुभयो भने नपत्याउनुहोला, प्रक्रिया केही बढेको छैन। मुआब्जा चाँडै होस् शुभकामना दिन सकिन्छ।’

साथै मेयर साहले एमालेलाई लक्ष्य गर्दै वडा नम्बर ३२ का जनप्रतिनिधिदेखि संघीय सरकार बनाएको पार्टीले चाहेमा मुआब्जा दिन सक्ने पनि बताए। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा एमालेले जितेको थियो।

‘हाम्रो त वडा समिति पनि त्यही, सरकार, प्रधानमन्त्री तथा अर्थमन्त्री पनि सोही पार्टीको,’ एमालेप्रति लक्ष्य गर्दै उनले भने, ‘अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन। स्थानीय सरकारदेखि संघीय सरकारसम्मलाई भन्नुहोला, मलाई पनि भन्नुहोला। हाम्रो उमेरभन्दा पनि बढी भयो यो ठाउँको जग्गा सरकारले लुटेको।’

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै मेयर साहले नेपालमा उत्पादित सामग्री खरिदबिक्री गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्