Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यदर्शन सहकारी ठगी प्रकरण: रविको पनि बयान सकियो, अब यस्तो हुन्छ

शुक्रबार, पुस १२, २०८१

काठमाडौं - सहकारी ठगी प्रकरणमा मुछिएर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सकिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

बिहीबार लामिछानेसँग ३ घण्टा बयान लिइएको थियो । बयानका क्रममा उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसुरमा संलग्न नरहेको दाबी गरेका थिए ।

लामिछानेको आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ।

अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनछेकको बहस र आदेश हुने अधिकारीले बताए ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप छ । यसअघि गत आइतबार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । यस्तै ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा दायर गरिएको हो ।

प्रतिवादी रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्