सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि हल्का वर्षा र हिमपात
काठमाडौं - पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दैछ । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ । सुदूर र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो । अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।