Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘पोखरा सडक महोत्सव’ आजदेखि

शनिबार, पुस १३, २०८१

पोखरा- पोखरामा २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ आजदेखि सुरु हुँदैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको सबै तयारी पूरा भएको र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।

संयोजक भट्टराईका अनुसार उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने छ ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।

महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए ।

सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुंगा दौडलगायत आयोजना हुनेछ ।

त्यसैगरी, अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उपसमितिले आ–आफ्नों तयारी पूरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठकलगायतका बैठकहरू सम्पन्न गरेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्