दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी प्रदर्शन
काठमाडौं- दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
गत डिसेम्बरको शुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौंयताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ ।
युनको महाभियोग प्रक्रिया पूरा गर्न र उनलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि महाभियोग लगाएका थिए । युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो तर दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
‘राष्ट्रपति युनको रक्षाका लागि करिब २० लाख मानिस एकजुट हुनेछन्’, सियोलमा आयोजित र्याली आयोजकमध्येका एक युनका समर्थक री काङ सानले बताए । उनले भने, ‘महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्यालीले निरन्तरता दिएको छ ।’ युन विरोधी र्यालीका आयोजकले उहाँविरूद्धको महाभियोगलाई समर्थन गर्नेहरुको आक्रोश ‘झनै चर्को रुपमा जलिरहेको’ बताए ।