‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ ।
महोत्सवको आज दोस्रो दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको घुइँचो लागेको हो ।
योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो ।
महोत्सवमा आउनेहरूको आकर्षण अैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो । आज अवलोकनका लागि सांसद दूर्लभ थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विभिन्न दलका नेता तथा जनप्रतिनिधिलगायत आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति थियो ।
महानगरप्रमुख महर्जनले मध्यपुर महोत्सवमा अवलोकनकर्ताको घुइँचोले यहाँको कला, संस्कृति, स्थानीय परिकारलगायत यहाँको परिवेशले आकर्षण गरेको स्पष्ट हुने धारणा राखे । उनले कला, संस्कृति, परम्परासहित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न यस किसिमका महोत्सव बेलाबेलामा आयोजना गर्नु आवश्यक रहेको बताए । यहाँका सम्पदाको संरक्षण र प्रचारप्रास गर्दै पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी महोत्सव आयोजना गरिएको जनाइएको छ ।