मिर्चैया-कटारी-घुर्मी ७२ किलोमिटर सडक स्तरोन्नतिमा साढे ९ अर्ब लाग्ने
काठमाडौं- मिर्चैया-कटारी-घुर्मी ७२ किलोमिटरको सडक स्तरोन्नति हुने भएको छ। सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।
प्रस्तावित सडकखण्ड स्तरोन्नति कार्यको प्रस्तावक सडक विभाग, आयोजना निर्देशनालय एसियाली विकास बैंक रहेको छ। आयोजना सिराहा जिल्ला (मधेश प्रदेश) र उदयपुर जिल्ला (कोशी प्रदेश) मा अवस्थित छ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची २०७८ पुस १ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। प्रस्तावित स्तरोन्नतिको काम मधेश प्रदेश सिराहाको मिर्चेया चोकबाट सुरु भइ कोशी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार गइ समाप्त हुन्छ।
आयोजनाअन्तर्गत मूलरुपमा सडकको चौडाइ फराकिलो पार्नेलगायत पुल निर्माण एवं अन्य स्तरोन्नतिको काम हुने रिपोर्टमा उल्लेख छ।
भू-उपयोगको प्रकारअनुसार सडक निर्माणको चौडाइ फरक रहने रिपोर्टमा उल्लेख छ। सहरी क्षेत्रहरुमा सडकको चौडाइ १३ मिटर रहेको छ भने वन तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ ८.५ मिटर (पहाडी क्षेत्र) देखि १० मिटर (तराई र सामान्य पहाड) सम्म रहेको छ। यसबाहेक रिपोर्टअनुसार आयोजनामा ३ ठूला पुल, ७ साना पुल, २८९ पाइप कल्भर्ट, ८ वक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ कजवेको निर्माण पनि समावेश गरिएको छ। सडक स्तरोन्नतिले मिर्चैया नगरपालिकाको वडा नम्बर ६ र ७ कटारी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ११ र १४ लाई प्रत्यक्ष प्रभाव पार्नेछ।
आयोजनाको अनुमानित लागत ९ अर्ब ४७ करोड (२० प्रतिशत भइपरि आउने खर्चसहित र भ्याटबाहेक) रहेको छ भने निर्माण अवधि ३० महिनाको हुने रिपोर्टमा उल्लेख छ।
अन्दाजी ५ सय ठूला तथा साना सवारीसाधन यस सडकमा दैनिक गुड्ने रिपोर्टमा उल्लेख छ। सडकमा २० टनसम्म भार बोक्ने व्यावसायिक सवारीसाधन गुड्ने रिपोर्टमा उल्लेख छ।
सडकबाट उपभोग्य वस्तुहरु, निर्माण सामग्रीहरु, तेल जस्ता अधिकांश वस्तुहरु संखुवासभा, ओखलढुंगा र खोटाङ जिल्लाको सदरमुकामसम्म लैजान सहयोग पुर्याउने रिपोर्टमा उल्लेख छ।