आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
ढोरपाटन– जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निशीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ ।
पश्चिम बागलुङको एक मात्र क्याम्पसका रूपमा रहेको निशीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो ।
दूर दराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तरिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए ।
क्याम्पस सञ्चालनका लागि मासिक रु चार लाख खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ । प्रमुख आचार्यले क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्र रहेको बताउँदै अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको उनले गुनासो गरे ।
अहिले क्याम्पसमा शिक्षा, समाज शास्त्र र व्यवस्थापन सङ्कायमा गरी एक सय १९ विद्यार्थी अध्ययनरत रहेका जनाउँदै प्रमुख आचार्यले विद्यार्थीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उल्लेख गरे । हाल आंशिक शिक्षक २२ र पूर्णकालीन दुई जना गरी २४ जना प्राध्यापक कार्यरत रहेका छन् ।