राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व छ : मन्त्री मण्डल
विराटनगर- कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ का लागि सचिवालयको स्थापना गरेको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
उनले कोशी प्रदेशमा धार्मिक, भौगोलिक र प्राकृतिक हिसाबले पनि पर्यटनको प्रशस्त सम्भावना रहेकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए । “हामीले प्रवेशद्वारमा नै प्रहरी जाँच गराइ पर्यटक आउने सवारीमा स्टिकर लगाउँछौँ जसले गर्दा बाटाबाटामा हुने प्रहरी चेकजाँचको समस्या हुँदैन”, उनले भने ।
पर्यटन वर्ष सफल पार्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले विभिन्न समितिमा निजी क्षेत्रलाई संलग्न गराएको जानकारी दिए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटकका लागि यो प्रदेश अत्यन्त सम्भावनायुक्त भएका उल्लेख गर्दै पर्यटन वर्ष–२०८२ सफल पार्न सबैको साथ आवश्यक भएको बताए । पर्यटन वर्ष–२०८२ निर्देशक समितिका सहसंयोजक भविष्य श्रेष्ठ र कृष्णकुमार साहले सरकारले यो योजनालाई सफल बनाउन सबै अहोरात्र खटिने प्रतिबद्धता जनाए ।