सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन् ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक-फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।
“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको संगत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको संगत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रभाव छोड्नुपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरू एमालेमा प्रवेश गराएका छन् ।