नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व कार्यक्रम : विद्यालयलाई नि:शुल्क इन्टरनेटदेखि हरियाली प्रवर्धन र वातावरण संरक्षणसम्म
काठमाडौं- नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
कम्पनीले हरियाली संरक्षण तथा वृक्षरोपणअन्तर्गत काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। टेलिकमले मौसमी फूलका बिरुवा तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायत सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलाप सञ्चालन गरिरहेको छ।
कम्पनीले देशका विभिन्न सामुदायिक विद्यालयमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायत विभिन्न सामग्री उपलब्ध गराएको छ।
साथै २० जिल्लाका १/१ सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सेनिटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको जनाएको छ।
वातावरण सरसफाईअन्तर्गत टेलिकमले धार्मिक मठमन्दिर, पुरातात्विक एवम् पर्यटकीयस्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायत महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टबिन वितरण गर्दै आएको छ।
वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोगअन्तर्गत सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरेको छ।
टेलिकमले वीर अस्पताल स्वास्थ्य संस्थामा आउने बिरामीका कुरुवालाई आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ।
विद्यालयमा इन्टरनेट सेवाको पहुँच पुर्याउन टेलिकमले फाइबर इन्टरनेट सेवा पुगेका देशभरका विभिन्न १०० वटा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्षसम्मका लागि निःशुल्क उपलब्ध गराएको छ।
त्यसैगरी, एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० वटा सामुदायिक विद्यालयमा १ वर्षका लागि नमस्ते वाइफाई (डब्लूबीबी) राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको जनाएको छ।
एसईईको तयारी गरिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले टेलिकमले अनलाइन माध्यमबाट नि:शुल्करुपमा पढ्न पाउने व्यवस्था मिलाएको छ।
यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेजसहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण गर्दै आएको छ।