Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेल तालिका सार्वजनिक

सोमबार, पुस १५, २०८१

बैतडी - प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।

दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लोस्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आवद्ध प्रदेश– ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए ।

उक्त छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्काे खेलमा डोटी र बझाङ खेल्ने छन् । पुस २० गते हुने पहिलो खेलमा डोटी र अछाम तथा दोस्रोमा बैतडी र बझाङ भिड्ने छन् । पुस २१ गते पहिलो खेलमा बैतडी र डोटी तथा दोस्रोमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ ।

पुस २२ गते पहिलो खेलमा समूह ‘ए’ मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् । पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ ।

पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा दोस्रोमा कञ्चनपुर र दार्चुला आमनेसामने हुनेछन् । पुस २५ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को विजेताबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्