Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागार्जुनका मेयर बस्नेत स्वतः निलम्बनमा, उपमेयर अधिकारी कार्यवाहक मेयर

सोमबार, पुस १५, २०८१

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ को दफा २७ अनुसार स्वत: निलम्बनमा पर्ने व्यवस्था छ।

दुबै कसुरले मुद्दा दायर भएपछि अन्तिम किनारा नलागेसम्म त्यस्ता व्यक्ति स्वत: निलम्बन भएको मानिने उल्लेख छ।

अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले पनि मुद्दा दायर भएसँगै ऐन अनुसार निलम्बनमा परेको बताए। भ्रष्टाचार निवारण ऐनले जनप्रतिनिधिलाई पनि राष्ट्रसेवकको रूपमा मानेको छ।

‘राष्ट्रसेवक भन्नाले प्रचलित कानुन बमोजिम सार्वजनिक पद धारण गरेको मानिने व्यक्ति सम्झनुपर्छ,’ ऐनमा भनिएको छ।

यसरी मुद्दा दर्ता भएपछि अनुसन्धान अधिकृतले नगरपालिकालाई पत्राचार गरिने सूचना अधिकारी थपलियाले बताए।

‘मुद्दा दर्ता भएसँगै उहाँ स्वत: निलम्बनमा पर्नुभएको छ। निलम्बनमा परेको जानकारी अख्तियारका अनुसन्धान अधिकृतले नगरपालिकालाई जानकारी गराउने प्रावधान छ,’ उनले भने, ‘हिजै चिठ्ठी पठाइसकेको छ।’

बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। 

अख्तियारले मोहन बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर गरेको हो। अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको छ। 

राजुप्रसाद पद्म कोलोनी प्रालि र पद्म मर्चेन्ट प्रालिका सञ्चालक हुन्। दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो।

मोहन बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दामा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँको बिगो कायम गरिएको छ। त्यस्तै, सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम भएको हो।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्