Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिउँले कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

सोमबार, पुस १५, २०८१

मुगु– कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ ।

हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुवाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताए ।

‘पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन’, उनले भने, ‘चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन् ।’ उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उनले फोनमार्फत बताए।

हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष साहीले बताए।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्