Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा न्युक्यासलसँग पराजित, चेल्सीलाई इपस्विच टाउनले हरायो

मंगलबार, पुस १६, २०८१

 काठमाडौ - इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा न्युक्यासलले २-० गोलको जित निकालेको हो।

खेलको चौथो मिनेटमै अलेक्जेन्डर इसाकको हेडर गोलमा न्युक्यासलले घरेलु टोलीले अग्रता बनाएको थियो। त्यस्तै दोस्रो गोल एन्टोनी गोर्डनको क्रसमा जोइलिन्टनले हेडरबाटै गरे।

न्युक्यासलले यसअघि म्यानचेस्टर युनाइटेडलाई सन् १९७२ मा मात्र उसैको घरेलु मैदानमा हराएको थियो। अंकतालिकामा न्युक्यासल १९ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा छ भने युनाइटेड समान खेलमा २२ अंक बनाउँदै तालिकाको १४ औँ स्थानमा छ।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सी इपस्विच टाउनसँग पराजित भयो। पोर्टम्यान रोड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इपस्विचले चेल्सीमाथि २-० गोलअन्तरको ऐतिहासिक जित निकालेको हो।

खेलको १२ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टाउनका लिआम डिलापले खेलमा अग्रता दिलाए। दुबै टोलीले यसपछि राम्रा अवसरहरु बनाएका थिए। चेल्सीले खेलमा राम्रो पकड बनाएर पनि खेलमा फर्कन सकेन। चेल्सीका जोआओ फिलिक्सले २६ औँ मिनेटमा गरेको गोललाई रेफ्रीले अफसाइड करार दिए।

दोस्रो गोल घरेलु टोलीले दोस्रो हाफमा थप्यो। चेल्सीका डिफेन्डरको मिस पासबाट पकड बनाएर पुगेको बललाई ओमरी हुटचिनसनले गोलमा परिणत गरिदिए। टाउनले सन् १९९३ पछि पहिलो पटक चेल्सीलाई प्रिमियर लिगमा हराएको हो।

अंकतालिकामा १९ खेलबाट ३५ अंक बनाउँदै चेल्सी चौथो स्थानमा छ भने समान खेलबाट १५ अंक बनाएको टाउन १८ औँ स्थानमा छ। रेलिगेशन क्षेत्रबाट रहेको टाउनलाई यो जितले ठूलो राहत मिलेको छ भने चेल्सीलाई उपाधिको होडमा ठूलो धक्का पुगेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्