डा. भिम रावलः पाँच दशक कम्युनिस्टबाट पाए लाभ, राजनीतिमा राष्ट्रवादको नयाँ बिलाप
काठमाडौं– पछिल्ला चरणमा राष्ट्रवादी कित्तामा उभिएको भनिएका एमालेबाट निष्काशित पूर्वउपप्रधान तथा रक्षामन्त्री डा. भिम रावल पाँच दशकदेखि राजनीतिक लाभ लिने मध्यका एक नेता हुन्।
नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका र केपी शर्मा ओलीसँग पराजित उनको चर्चा फेरि चुलिनुका पछिल्ला दुई कारण देखिएका छन्।
पहिलो, नेकपा एमालेको सचिवालय बैठकले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिनु र दोस्रोचाहिँ, अब उनले कम्युनिस्ट कित्ता छाडेर राष्ट्रवादी पार्टी गठनको पहल थाल्नु।
रावलको ५१ वर्षे सम्बन्ध एमालेसँग छुटेको छ। अघिल्लो साता मात्र सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेपछि उनको एमालेसँगको आधा शताब्दी लामो साइनो टुटेको थियो।
भीम रावल २०४७ सालमा तत्कालीन कृषि मन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार हुँदै सत्ता राजनीतिको रंगमञ्चमा देखिएका थिए। यसबीच रावल गृह हुँदै उपप्रधान एवं रक्षामन्त्रीसमेत भएका थिए।
हाल एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रावल पछि केपी शर्मा ओलीको पहिलो सरकारमा उपप्रधानसहित रक्षामन्त्रीको भारी जिम्मेवारीमा थिए।
उनले तत्कालीन नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता प्राप्त गरेका थिए। ६९ बर्षको उमेरमा रावल पार्टीबिहनी बनेका छन्। पछिल्ला चरणमा उनी विभिन्न मिडियामा चर्चाको पात्र बने पनि एमालेभित्र प्रभावकारी भूमिकामा उक्लिन सकेनन्। जबकि नेकपा विभाजन भई एमाले र माओवादी छुट्टियो अनि एमाले विभाजनताका उनी १० बुँदे समझदारी गराउने पहलकर्ता मध्यका एक थिए।
त्यस मध्यका ८ जना एमालेमा विभिन्न जिम्मेवारीमा छन् भने घनश्याम भुसाल पछिल्ला चरणमा समाजवादीको महासचिव छन् भने रावल बेघर।
उनी २०४७ सालदेखि नै पार्टी सत्तासँग निकट भए। राजनीति शास्त्रका गोल्ड मेडलिष्ट, अंग्रेजी र नेपाली भाषामा उत्तिकै पकड भएकाले एमालेका दस्तावेज रावलले नै तयार पार्थे।
रावलले २०४८ सालको आमनिर्वाचनमै अछाममा टिकट पाएका थिए तर चुनाव जित्न सकेनन्। २०५१ सालमा दोस्रो पटक भीम रावलले नै टिकट पाए र भारी मतान्तरले चुनाव जिते। त्यस बेलै एमालेले अल्पमतको सरकार बनायो। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने। त्यही मन्त्रिपरिषदमा उनी नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बने।
माधवकुमार नेपालसँग निकट रहेर काम गरेका रावल २०७१ को नवौं महाधिवेशनपछि भने केपी शर्मा ओलीसँग निकट बन्न पुगेका थिए।
२०७२ सालमा संविधान जारी भएपछि सरकारको नेतृत्व गर्ने अवसर अध्यक्ष केपी ओलीले पाए। संविधान जारी भएलगत्तै मुलुकमा नाकाबन्दी सुरू भयो। नाकाबन्दीताका रावलको राष्ट्रवादी लवज ओलीसँग दुरूस्तै मिल्यो।
नेकपाको शक्ति संघर्ष बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग नजिक थिए भीम रावल। एक हिसाबले हेर्ने हो भने शक्तिकै पछि उनको दौडाहा थियो।
तर परिस्थितिले उनलाई शक्तिहिन बनाएपछि अब जीवनको ७ दशकको उमेरमा उनी दोस्रो इनिङ्सको सुरुआत गर्दैछन्, गैरकम्युनिस्ट पार्टी गठनबाट।
एक हिसाबले यो उनको अर्को राजनीतिक बिलाप पनि मान्नुपर्छ। बुधबार पत्रकार सम्मेलन आह्वान गरिसकेका रावल अब गैरकम्युनिस्ट कित्ताको नयाँ धार निर्माणको तयारीमा लागेका हुन्।
उनले यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नजिक रहीसकेका तर बिद्रोही बनेका नेपाली कांग्रेस (वीपी)का नेता कर्ण मल्लसँग भेट गरिसकेका छन्।
‘जीवनमा पाउनुपर्ने सबै सुविधा कम्युनिस्ट भएर पाइसकेपछि अब गैरकम्युनिस्ट राजनीति गर्छु भन्नु पनि एउटा अवसरवाद हो’, एमालेका एक नेता भन्छन्,‘यसलाई अवसरवाद मात्र नभनी आफूले मौका नपाएपछिको बिलाप पनि भन्न सकिन्छ।’
उनले पत्रकार सम्मेलनका क्रममा नै आगामी यात्राका बारेमा खुलाउनलान् तर राजनीतिबाट नै विश्राम लिनेबेला फेरि राजनीतिको नयाँ शिरा सुरु गर्छु भन्नु पनि एउटा अवसरवादी चरित्र नै रहेको कतिपय चित्रण गर्छन्।
यद्यपि रावलको आगामी यात्रा कसरी अगाडि तय हुने हो हेर्न बाँकी छ। उनलाई कतिपयले भने माधवकुमार नेपालसँग सहकार्यका लागि सुझाव समेत दिने गरेको पाइन्छ।