Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेसँग ५ भिन्नता राख्ने एकीकृत समाजवादी ठूला नेता थान्को लाग्ने ‘डम्पिङ साइट’ किन बन्दैछ?

मंगलबार, पुस १६, २०८१

काठमाडौं– २३ जना सांसद लिएर २०७८ साल भदौ २ गते निर्वाचन आयोगमा नयाँ दलका रुपमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी ०७९ को आम निर्वाचनमा राष्ट्रिय दल हुन सकेन।

नेकपा एमालेसँग विद्रोह गरी बिभाजित भएको भनिएको पार्टीको पहिलो महाधिवेशन सकिएको थियो। तर उसले आफूलाई मूलधारको ठानेरै त्यसलाई दशौं महाधिवेशन भनेको थियो।

उसले सो क्रममा ५ भिन्नताका आधारमा एमालेभन्दा अलग रहेको जनाएको थियो।

एमालेसँग अहिले पनि रहेका पाँचवटा भिन्नता रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा उल्लेख छ।

त्यसमा एउटा विषय मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको विषय पनि छ।

एमालेले अझैसम्म जनताको बहुदलीय जनवादको पक्षमा रहेको तर आफ्नो दल समाजवादको पक्षमा रहेको नेपालले उल्लेख गरेका छन्।

उक्त पाँच बुँदामा एकीकृत समाजवादीले ‘जनवादी क्रान्ति’ पूरा भएको मान्ने तर एमालेले अधुरै रहेको ठान्ने उल्लेख छ।

त्यस्तै आफ्नो दलले पार्टीको मार्गदर्शक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’लाई मात्र मान्ने तर एमालेले ‘जनताको बहुदलीय जनवाद’ लाई पनि मान्ने जिकिर छ।

एकीकृत समाजवादीले अघि सारेको ‘समाजवादी क्रान्ति’को कार्यक्रममा एमालेले असहमति जनाउने र त्यसलाई एमालेले ‘समाजवादको आधार तयार गर्ने’ कार्यक्रम मात्रै भन्ने गरेको माधव नेपालको प्रतिवेदनमा उल्लेख छ।

‘हामीले समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमालेले जनताको बहुदलीय जनवाद लागु गर्दै राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादको आधार निर्माण गर्नु हामीले अवलम्बन गरेको राजनीतिक कार्यदिशाको सार हो भन्छ’ प्रतिवेदनमा भनिएको छ।

पाँचौँ भिन्नतामा नेपालले आफ्नो दलले ‘प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूविरुद्ध प्रहार केन्द्रित गर्ने’ आफ्नो दलको नीति रहेको तर एमाले त्यस्ता तत्त्वसँग ‘सहकार्य गर्न चाहने’ दाबी गरिएको छ।

‘एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा हुनुपर्ने यी मुख्य गुण केपी ओलीले चलाएको एमालेमा एउटा पनि छैन,’ नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्।
तर एकीकृत समाजवादी आफैं पनि अहिले ठूला नेताको थान्को लगाउने ‘डम्पिङ साइट’ जस्तो बनेको छ।

पछिल्लो पटक एमाले विभाजनताका तेस्रो लाइनमा रहेका नेता बामदेव गौतमसँग माधवकुमार नेपालको वार्ता भएको छ। अब गौतमलाई उक्त पार्टीको रातो कार्पेट ओछ्याउने तयारी गरिएको बुझिएको छ।

नेकपा एकीकृत समाजवादीमा हेर्ने हो भने एमालेका क्रिम नेता छन्। एमालेमा रजगज गरेका नेताहरूको भिडभाड देखिन्छ। अध्यक्ष माधवकुमार नेपाल आफैं एमाले १५ बर्ष हाँकेका नेता हुन्। सम्मानित नेता भनिएका झलनाथ खनालले पनि झन्डै दशक नै नेतृत्व गरे। यीबाहेक सर्वकालिन जस्तो बरिष्ठ उपाध्यक्ष रहेका बामदेव गौतम पनि वार्ताका क्रममा छन्।

बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, जगन्नाथ खतिवडा, बिरोध खतिवडा, राजेन्द्र पाण्डेदेखि रामकुमारी झाँक्रीसम्मका नेता छन्। तर, त्यो नेता थन्क्याउने डम्पिङ साइट जस्तो बनेको छ। नेताको लर्को भए पनि मत र जनमतमा निक्कै कमजोर पार्टी देखिन्छ।

जनतामा तल्लो तहसम्म जनमत बटुल्ने भन्दा पनि नेताका टाउको देखाएर उक्त दल ठूलो भएको ‘आत्मरती’मा रमाउन लागेको कतिपयको बुझाई छ।

आन्तरिक बिमती चुलिँदो रहेको त महाधिवेशनका क्रममा नै देखिएको थियो।

‘एमालेभन्दा फरक भनिएको छ। तर नयाँ भनिएको छैन’, उच्च स्रोतले भन्यो,‘त्यसैकारण यो पार्टीको खास अर्थ के हो भन्ने औचित्य स्थापित हुन सकेको छैन। कि चुनावमा हुनुपर्ने थियो तर समानुपातिक मतमा पनि त्यो देखिएन।’
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्