०८४ को निर्वाचन लड्ने भयो विप्लवको दल, मोर्चावन्दी पनि कस्ने
काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ ।
हालै सम्पन्न भएको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टी दर्ता गरेर ०८४ को निर्वाचनमा भाग लिने भएको हो ।
'आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइनेछ' मंगलबार जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ ।
पार्टीले विचार मिल्ने पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने पनि निर्णय गरेको छ ।
बैठकले कोसी प्रदेशलाई 'किराँत लिम्बुवान' प्रदेश नामकरण गर्न राजनीतिक शक्तिहरूसँग छलफल बढाउने निर्णय गरेको छ ।
विप्लवको पार्टीले उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ । "पार्टीलाई मात्र होइन, देशलाई नै आत्मनिरभरतासहित समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यन्वयन गर्ने," निर्णयमा भनिएको छ ।