जनता समस्याले उकुसमुकुस छन् : गगन थापा
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।
‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान काँग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’
साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामूहिकताको भावना नै राष्ट्रियता भएको जिकिर गरे ।
‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ । त्यो नक्साभित्र हामी बसेका छौँ । कुनै बेला समस्या के थियो, हिंसा थियो । कुनै बेला हाम्रो अधिकार थियो,’ थापाले भने, ‘‘आजकहिँ न कहीँ छटपटी देखिन्छ । हामीबाट पार्टीभित्र सघन छलफल गरेर अघि बढ्नुपर्छ ।’