Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

मंगलबार, पुस १६, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघले सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको जनाएको छ ।

महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ ।

महासंघका अनुसार समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटना भएका छन् ।

सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएकाे महासंघले जनाएकाे छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनन्‌का घटना वृद्धि भएको छ ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हनन्‌का ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की इटहरीका पत्रकार गोपाल दाहालले पाइरहेका छन् ।

पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन, लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले ठानेको छ ।

सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानुन पाउन नसकेको र लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको महासंघले जनाएकाे छ ।

यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ ।

महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको सर्वविदितै छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्‌का घटनामा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्