अवकाश पाएका चार एआइजी र दुई डिआइजीको बिदाइ
काठमाडौ - हालै अवकाश पाएका नेपाल प्रहरीका चार एआइजी र तीन डिआइजीको प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गरे।
अवकाश पाएका सबै विसं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त अधिकारी हुन्। किरण बज्राचार्य पुस १६ गते, भिम प्रसाद ढकाल मंसिर २८ गते, भरत बहादुर बोहरा पुस १४, केदार ढकाल मंसिर २२ गते, डा.देउती गुरूङ पुस १५ र विकास राज खनालले वैशाख ७ गते अवकाश पाएका हुन्।