Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्केगाड गाउँपालिकाका अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

मंगलबार, पुस १६, २०८१

काठमाडौं - हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् ।

मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो ।

यस मुद्दामा गाउँपालिका उपाध्यक्ष जोसी धामी, लेखापाल पूर्णप्रसाद आचार्य, इञ्जिनियर रामराज शाही र सब ओभरसियर पदमबहादुर धामीले सफाइ पाएका छन् । अध्यक्ष रोकाया कोइलिङ कृषि तथा पशुपालन फर्मका सञ्चालक समेत हुन् । उनलाई र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई दुई वर्ष कैद र नौ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने सँजाय सुनाइएको छ । साथै दुवैबाट बिगो असुलउपर समेत हुने फैसलामा उल्लेख छ ।

विशेषका अनुसार हंश रोकाया, सेतु रोकाया र तुलाराज रोकाया पनि दोषी पाइएका छन् । उनीहरु तीनै जनाले मतियारको कसुर गरेको भन्दै मुख्य प्रतिवादीभन्दा आधा सँजाय सुनाइएको छ । उनीहरुलाई जनही एक वर्ष कैद र चार लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना हुने भएको छ । तर, बिगो बराबरको रकम असुलउपर भइसकेका कारण उनीहरुबाट उक्त रकम भराइरहन नपर्ने फैसलामा छ ।

गाउँपालिका अध्यक्ष रोकाया आफू निर्णयकर्ताका रुपमा सार्वजनिक पदमा रहँदा नै आफ्नै निजी जग्गामा रहेको आफैले सञ्चालन गरेको कृषि फर्मको घेरबार निर्माणका लागि बजेट छुट्याएको भेटिएको थियो । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा क्रमशः नौ लाख ५० हजार र १० लाख रुपैयाँ छुट्याइएको अनुसन्धानले देखाएको थियो । आफ्नै फर्ममा घेरबारको लागि बजेट विनियोजन गरेका उनले गलत कार्यको ढाकछोपका लागि आफ्नै परिवारका सदस्यहरुलाई उपभोक्ता समितिमा राखेका थिए ।

गाउँपालिका अध्यक्षले आफ्ना सहोदर दाजु हंश रोकायालाई अध्यक्ष, श्रीमती सेतुलाई कोषाध्यक्ष र तुलराजलाई सचिव बनाएका थिए । पर्खाल लगाउने योजनाको अनुगमन समितिबाट अनुगमन भएको प्रतिवेदनसमेत बनाएर भए गरेको कार्यभन्दा बढीको भुक्तानी नगरपालिकाबाट लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा यसै वर्ष २३ असारमा मुद्दा दायर गरेकोमा आंशिक ठहरको फैसला भएको हो । विशेषका अनुसार निजी जग्गामा कृषि फर्म दर्ता गरी सो फर्म मात्र प्रतिस्पर्धामा छनौट हुनेगरी कृषि अनुदान लिएको, सुनियोजित रुपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेको भन्दै सजाय सुनाएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार