हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा
सिमकोट- जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजकोट क्षेत्रका विभिन्न आठ वटा बस्ती भिरालो जमिन रहेकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो ।
ताँजकोट गाउँपालिकाको वडा नम्बर १ को कोलपेल्ना, वडा नम्बर २ को दलितबाडा, वडा नम्बर ३ को भ्यालबाडा र रोकायाबाडा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को लोटपाटा र दलित बाडा बस्ती उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले बताए ।
भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै उनले ताँजकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जानकारी दिए । जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।