Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा

बुधबार, पुस १७, २०८१

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलवार विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मंगलवार नै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको माता तीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत आयोजनाहरूको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।

यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक(भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताए । मार्कीचोक-भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली-काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङ्दी-काठमाडौँ र त्रिशूली-काठमाडौँ प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुने छ ।

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले उल्लेख गरे ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी(काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्