Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा

बुधबार, पुस १७, २०८१

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने बुधबार घोषणा गरेको छ ।

यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुँदैछ ।

सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर-तह/अन्तर-निकाय समन्वय र सहकार्य स्थापना गर्ने श्रम मन्त्रालयले जनाएको छ । सरकारले यसअघि २०५४, ०६१, ०६९ र ७६ मा यो सम्मेलन गरेको थियो ।

‘अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमनमात्रै हैन, प्रवर्द्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ,’ श्रम मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रम प्रवक्ता डण्डुराज घिमिरेले भने,‘उद्योग र प्रतिष्ठानहरूको भूमिका र यसको लागि सम्पूर्ण आपूर्ति श्रृंखलामा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ ।’

सम्मेलनमा आन्तरिक रोजगार प्रवर्द्धनका लागि उत्पादन र उत्पादकत्व प्रणालीमा रूपान्तरण र नेपालमा आप्रवासन प्रक्रिया र आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धनमा तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रमा उपयोग लगायतका विषयमा छलफल हुनेछ ।

‘वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारदेखि मर्यादित श्रमको विकाससम्म सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दस वर्षे रणनीतिक योजनामा समावेश गरिनेछ,’ उनले भने ।

सम्मेलनका लागि श्रम सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति बनाइएको छ ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी ५ सय जनाको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्