Nic Ad Nic Ad
Nic Ad Nic Ad

जब नजिकिन्छ महाधिवेशन तब हुन्छ ‘कांग्रेसका तीन पुत्र’को घनिभूत भेट, के पाक्दैछ भित्र भित्रै?

बिहीबार, पुस १८, २०८१

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन नजिकिन थालेपछि कांग्रेस संस्थापक नेताका तीन पुत्र अर्थात् प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक कोइरालाको भेटवार्ता घनिभूत रुपमा हुने गरेको छ। 

१४औं महाधिवेशनमा पनि यसैगरी गुटबन्दी चलाएका गणेशमान सिंह, महेन्द्रनारायण निधि र वीपी कोइराला पुत्रहरूले १५औं महाधिवेशनमा पनि नयाँ समूह बनाएर बार्गेनिङलाई जिउँदो राख्ने सल्लाह गरेको बताइन्छ।

भेटवार्ता कांग्रेसको आन्तरिक सुधार, आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइए पनि यो आगामी महाधिवेशनको सम्भावित दुई समूहलाई धावा दिनेगरी अगाडि बढ्ने योजनामा केन्द्रित रहेको उच्च स्रोतले जनाएको छ।

नेता सिंहको निवासमा भएको यो छलफल पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित गरिएको बताइन्छ। 

तीनै नेताले पार्टीभित्रको असन्तोष अन्त्य गर्दै कांग्रेसलाई बलियो र प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्। 

पार्टीको आगामी महाधिवेशन, नेतृत्व चयन प्रक्रिया, र कार्यकर्ताको भूमिकालाई थप सशक्त बनाउन उनीहरूले साझा धारणा तय गर्न प्रयास गरेको जनाइएको छ।

यस भेटवार्तामा विशेष गरी पार्टीभित्रको गुटबन्दी अन्त्य, आगामी निर्वाचन रणनीति, र सरकारको समसामयिक नीति तथा कार्यक्रमहरूप्रति पार्टीको धारणा बनाउने विषयमा विस्तृत छलफल भएको थियो। नेताहरूले पार्टीको नेतृत्वलाई प्रभावकारी बनाउन सबै तह र तप्काको प्रतिनिधित्व सुनिश्चित गर्ने उपायहरू खोज्ने विषयमा जोड दिएको बुझिएको छ।

नेता बिमलेन्द्र निधिले कांग्रेसलाई आगामी निर्वाचनसम्म एउटा शक्तिशाली विकल्पका रूपमा उभ्याउन सबै तहका नेताहरूको समन्वय र एकताको खाँचो औंल्याए। 

शशांक कोइरालाले पार्टीभित्रको सन्तुलन र नेताहरूबीचको विश्वास अभिवृद्धिमा जोड दिँदै कांग्रेसको ऐतिहासिक भूमिका पुनःस्थापित गर्नुपर्ने तर्क गरेका थिए।

यसैगरी, नेता प्रकाशमान सिंहले पार्टीभित्रका आन्तरिक विवाद समाधान गरी कार्यकर्तालाई अभिप्रेरित गर्ने गरी काम गर्नुपर्ने धारणा राखे। उनले कांग्रेसलाई प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्षम बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

भेटवार्तापछि तीनै नेताले पार्टीभित्रको एकता बलियो बनाउँदै साझा लक्ष्यप्रति प्रतिबद्धता जनाउने बताउँदै आएका छन्। 

पार्टीभित्रको आन्तरिक असमझदारी हटाउन र कांग्रेसलाई प्रभावकारी रूपमा अगाडि बढाउन यस प्रकारका पहलहरूलाई सकारात्मक रूपमा हेरिएको छ।

भेटवार्ताले कांग्रेसभित्रको नेतृत्व परिवर्तन र आगामी राजनीतिक परिदृश्यमा यसले गर्ने प्रभावबारे नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

यसैबीच आगामी महाधिवेशनका फरक समीकरण बन्ने तयारी भइरहेको छ। सभापतिका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइरालाले पनि सभापतिका लागि तयारी गरिरहेका छन्। 

आगामी महाधिवेशनका लागि अहिले शेखर कोइराला सभापतिको उम्मेदवारीका लागि देश दौडाहामा रहेका छन् भने महामन्त्री थापा पनि यसैको तयारीमा रहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्