Nic Ad Nic Ad
Nic Ad Nic Ad

अघिल्लो पटक जाँदा प्रधानमन्त्री सरहको सत्कार पाएकी राणाले दोस्रो पटक भारतमा ‘मान’ नपाउनुको रहस्य

बिहीबार, पुस १८, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजकीय भ्रमणका लागि नबोलाएको भारतले युरोप हुँदै त्यहाँ पुगेकी परराष्ट्रमन्त्री आरजु राणालाई पनि दोस्रो पटक बेवास्ता गर्नुको कारण पत्ता लागेको छ।

अघिल्लो पटक गत भदौमा परराष्ट्रमन्त्री बन्नासाथ भ्रमणमा पुगेकी राणालाई प्रधानमन्त्री सहरको मान दिएको भारतले युरोप हुँदै नयाँ दिल्ली पुग्दा बेवास्ता गर्नुको प्रमुख कारण चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) सम्झौता हो। 

यसबाहेक भारतीय संस्थापन प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट रहनु पनि हो। बलियो र दिगो सरकार बन्ने भएपछि यो गठबन्धनलाई भारतले रुचीकर नमानेको उच्च स्तरीय कुटनीतिक जानकार बताउँछन्। 

त्यसबेला भारतीय विदेशमन्त्री एस जयशंकरको निम्तो मान्न पुगेकी राणासँग त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भेट गरेका थिए। भेटवार्ता नेपाल–भारत सम्बन्ध सुदृढीकरण, द्विपक्षीय सहकार्य, र क्षेत्रीय समृद्धिबारे केन्द्रित रहेको बताइएको थियो।

भेटका क्रममा आरजु राणाले नेपालको आर्थिक विकास, ऊर्जा क्षेत्रको सहयोग, र सीमा व्यवस्थापनजस्ता मुद्दाहरूमा भारतको सक्रिय समर्थनको आग्रह गरेकी थिइन्। 

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतका लागि विशेष स्थानमा रहेको उल्लेख गर्दै दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएका थिए।

बैठकमा नेपाल–भारत विद्युत व्यापार, जलविद्युत् परियोजनाहरूमा सहकार्य, र भौतिक पूर्वाधार विकासमा भारतको लगानीबारे पनि छलफल भएको थियो। साथै, नेपालमा हालैका राजनीतिक परिवर्तन र त्यसले क्षेत्रीय सम्बन्धमा पार्ने प्रभावबारे मोदीले चासो व्यक्त गरेका थिए।

तर एउटा फाउन्डेशनको कार्यक्रममा सहभागी हुनका लागि युरोपबाट सिधा नयाँ दिल्लीमा उत्रिएकी राणालाई यस पटक खासै चासो दिइएन। ‘यो राजनीतिक र कुटनीतिक कारण हो। भारतले नेपाल सरकारलाई हेर्ने सांकेतिक दृष्टिकोणका रुपमा पनि बुझ्न आवश्यक हुन्छ’, उच्च स्रोतले भन्यो,‘युरोपबाट नयाँ दिल्लीमा पुग्नुको उद्देश्य भनेको ओलीको भ्रमणको तारतम्य मिलाउनु थियो। तर, उच्च स्तरीय भेट हुन सकेन।’

राणासँग भेट गरेको भनी भाजपाका महासचिव समेत रहेका राम माधवसँग सोधपुछ गरिएको भन्ने विवरण पनि आएका थिए। राणाले भारतीय संस्थापनसँगको सम्बन्ध विस्तारका निम्ति भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइबालेसँग ‘राखी कुटनीति’ कायम गरेकी थिइन्।

तर राणा आफैंले भने यस पटक भारत उत्रिनुको कारण कुनै भेटका लागि नभई फाउन्डेशनको कार्यक्रमका लागि मात्र भएको प्रतिक्रिया दिएकी थिइन्। 
तर जब भारतीय पक्षले बेवास्ता गरेको चर्चा भयो र प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौता भयो अनि नेपाली कांग्रेसले भारतलाई आश्वस्त पार्नका लागि त्यो ऋण नभएको भन्नेसम्मका नोट पठाएका विवरण सतहमा आएका थिए।

अचम्मको विषयचाहिँ अघिल्लो पटक ठूलो मान पाउँदा यस पटक एउटा कार्यक्रममा डाकेर अतिथि राखेकै कारण भाजपाका महासचिव मध्यका एक राम माधवलाई सोधपुछ गरिनु रहेको थियो। ‘यदि यो साँचो हो भने नेपालको अहिलेको गठबन्धनप्रति भारतीय पक्ष कति सकारात्मक छ भन्ने प्रश्न खडा हुन्छ’, कुटनीतिक मामला जानकारहरु बताउँछन्,‘यसलाई शंकास्पद हिसाबले बुझ्न आवश्यक हुन्छ।’
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्