Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन

बिहीबार, पुस १८, २०८१

काठमाडौँ- कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले प्रशासनलाई बताए ।

जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको उनले जानकारी दिए ।

परिसरको मुद्दा फाँटका डीएसपी हरि खतिवडाका अनुसार ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ । स्वर्णलक्ष्मीमा पक्राउ पुर्जी जारी भएका ४४ जनालाई पहिलो चरणमा प्रतिवादी बनाउनुपर्ने प्रहरीले राय दिएको छ । 

पछि थप खुलेमा पूरक अभियोजन लैजाने गरी प्रतिवेदन बुझाइएको छ । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ४४ जनालाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने विषय प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्