ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।
२०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले १८औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।
‘अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो’, उनले भने । बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उनले बताए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको उनले बताए । मिहिनेत र लगनशीलताले मात्र लक्ष्य प्राप्त हुने उनले बताए ।
सम्पूर्ण कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्याएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । रेग्मीले बैंकले आगामि वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।