सरकारको आयु लामो छैन : प्रचण्ड
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकारको आयु धेरै नभएको बताएका छन् ।
आज विहीबार केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रचण्डले ओली सरकारको आयुबारे ‘ब्रिफिङ’ गरेका हुन् ।
आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा प्रस्तुत गर्ने क्रममा उनले भने, ‘केपी ओली सरकारको आयु धेरै छैन । यो सरकार अन्तर्राष्ट्रियमा पनि अनुदार देखियो ।’ प्रचण्डले भने, ‘राष्ट्रिय समस्या समाधान गर्नसमेत ओली सरकार पूर्ण असफल देखियो । जनताको सरकार नभई भ्रष्टाचारी, बिचौलिया, माफियाको सरकार बनेकाले अलोकप्रिय बन्दै गएको छ ।
एमालेभित्र र कांग्रेसभित्र चुलिएको असन्तुष्टिका कारण पनि अब ओली सरकार धेरै पर जाँदैन । यस्तो अवस्थामा हामी सरकारमा जाँदैनौँ । अभियान लिएर जनताको बिचमा जान्छौँ ।’
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि ओली सरकार धेरै नटिक्ने बताए । पार्टीभित्रकै फरक आवाजलाई बन्द गर्ने, भ्रष्टाचारी, बिचौलिया, माफियाका संरक्षणका लागि कांग्रेस र एमालेको सरकार बनेको आरोप लगाए ।