नेभिगेशन
राजनीति

विवादको चाङमाथि चाङः लेखा समिति सभापति पोखरेलले देखाएनन् नैतिकता, नयाँ काण्ड यस्तो छ

काठमाडौं– नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेल एकपछि अर्को विवादको भुङ्ग्रोमा पर्दा पनि नैतिकता देखाउन चुकेका छन्। 

पदीय दायित्वबाट अलग रहनुपर्नेगरी सहकारी ठगी प्रकरणमा पत्नी र ठगी प्रकरणमा प्रमुख स्वकीय सचिवमाथि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी हुँदा पनि ऋषिकेश भने शक्ति केन्द्रको उपयोगमा सक्रिय रहेका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका कारण नै उनले राजनीतिक नैतिकता देखाउन अटेर गरेका हुन्। 

ऋषिकेशका प्रमुख स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ। उनकी पत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएकी महिला हुन्। शक्तिका आडमा कोइरालालाई पनि जोगाउन पोखरेल उद्दत रहेका छन्।

प्रमुख स्वकीय सचिवको ठगी प्रकरण के हो?
प्रमुख स्वकीय सचिव पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट पुस ११ गते नै परमादेश जारी भएको थियो। तर, अझै पनि शक्ति केन्द्रको प्रयोग गर्नका लागि उनी सक्रिय रहेका छन्।

एक जना सामान्य मानिससँग जागिर लगाइदिने नाममा पोखरेलले ३८ लाखभन्दा बढी ठगी गरेको पाइएको हो। जसको जाहेरी प्रहरीले लिन मानेको थिएन।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो। 

पोखरेल २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ को कोशी प्रदेशसभा क्षेत्र नम्बर (२) बाट उम्मेदवार सिफारिस भएका थिए। उक्त निर्वाचन क्षेत्रबाट अन्तिममा लिलाबल्लभ अधिकारीले टिकट पाए पनि जिल्लाबाट अनिल पोखरेललगायतका नेताहरु पनि सिफारिसमा परेका थिए।

२०८० भदौमा ऋषिकेश लेखा समिति सभापति निर्वाचित भए। प्रदेशसभा सदस्यको टिकट नपाएको अनिल भने ऋषिकेश पोखरेलका स्वकीय सचिव बनेका थिए।

बौवालाल चौधरीकी छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर अनिलकुमार पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ लिएको अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ। 

चौधरीले छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता मागेका थिए। पैसा फिर्ता माग्न थालेपछि पोखरेलले धम्की दिन थाले। त्यतिले पनि नपुगेपछि २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भनेर पोखरेलले आफूलाई बोलाएको चौधरीले निवेदनमा लेखेका छन्।

यहाँसम्म गरेकी कि, चौधरीलाई ऋणि बनाई ५० लाखको कागज गरेको समेत विवरण सतहमा आएका छन्। 

उच्च अदालतले भने चौधरीले प्रहरीमा जाहेरी दिएको प्रमाण इजलासमा नै झिकाएको थियो। अदालतले हुलाकको पोस्ट म्यान बुकको सक्कल प्रति नै प्रहरीलाई देखाएको थियो।

यसैबीच एमालेको पूरै शक्ति ऋषिकेशलाई नैतिक पतनबाट जोगाउनका लागि सक्रिय रहेको छ। पत्नीदेखि प्रमुख स्वकीय सचिवसम्म उनको शक्तिका आडमा ठगीमा रहँदा पनि ऋषिकेशले राजीनामा दिएका छैनन्। एक कानुकर्मीका अनुसार यतिसम्म नैतिकतामा प्रश्न उठेपछि अरुलाई विवादमा ल्याउनेले राजीनामा गर्नुपर्ने बताउँछन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति