उत्तरार्धमा भण्डारी–ओलीः ‘राजनीतिक घमासान’बीच पर्दामा सौहार्दको अर्थ
काठमाडौं– एउटा भनाई छ,‘प्रेम र घृणा फरक–फरक परिस्थितिमा अनुभव हुने एउटै भावना हो। जोश एउटै हो। पीडा एउटै हो।’
नेपाली राजनीति र त्यसमा पनि नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्याभण्डारीबीच अहिले देखिएको पर्दाको कहानी यस्तै–यस्तै लाग्छ। पर्दाभित्र के भइरहेका छन् भन्नेचाहिँ दुवैका सन्निकटका नेताका भनाई र अनुमानका आधार बन्छन्।
राजनीतिक प्रेम र घृणामा पनि फरक–फरक परिस्थितिमा अनुभव हुने एउटै भावना हुन्, जोश हुन् र पीडा पनि त्यहि हो। यो संयोग किन होइन भने प्रधानमन्त्री समेत रहेका ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच घटीसकेको घटना हो।
०७४ पछि बाम गठबन्धन सरकार, पार्टी एकीकरण, सत्तामा बिग्रह, पार्टी विभाजनको अत्यन्तै घृणित भाषणबाजी। ०७९ पछिको सरकार गठन, फेरि सत्ता गठबन्धन परिवर्तन अनि फेरि गठबन्धन र अनि विभाजनपछिको अहिलेको अवस्था।
ठ्याक्कै यस्तै परिस्थिति एमालेभित्र ओली र भण्डारीबीच आउने सम्भावना र विश्लेषण गरिएको छ।
त्यसअघि ओली–भण्डारी राजनीतिक सम्बन्धको विस्तारको संक्षेपबारे केही बुझौं।
ओली र भण्डारीको सम्बन्धलाई विशेष रूपमा हेर्ने गरिएको छ। यी दुई नेताहरूले लामो समयसम्म नेकपा एमालेको नेतृत्व र पार्टीभित्र प्रभावशाली भूमिकामा काम गरेका छन्।
दुबै जना एउटै पार्टीको मूलधारमा रहेर काम गरेकाले उनीहरूको सम्बन्ध सहकार्यको उदाहरणका रूपमा सुरु भएको भए पनि पछिल्लो समय विभिन्न विवादका कारण चर्चामा आएको छ।
ओली र भण्डारीको राजनीतिक यात्रा एमालेभित्रै सुरु भएको हो। भण्डारीले पति मदन भण्डारीको निधनपछि पार्टीभित्र आफ्नो सक्रियता बढाउँदै ल्याइन् र ओलीसँग नजिकका राजनीतिक सहयोगीको रूपमा काम गरिन्।
ओलीको नेतृत्वको सरकारको पालामा भण्डारीलाई २०७२ सालमा नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा नियुक्त गरिएको थियो। यस घटनालाई दुबैको राजनीतिक सहकार्यको महत्वपूर्ण उपलब्धि मानिन्छ।
भण्डारी राष्ट्रपतिको रूपमा कार्यरत हुँदा ओली प्रधानमन्त्रीको भूमिकामा थिए। यस अवधिमा, दुवैबीच सत्ता चलाउने शैलीमा समानता देखियो।
विशेष गरी, २०७८ सालमा प्रतिनिधि सभा विघटनको मुद्दामा ओलीको निर्णयलाई भण्डारीले समर्थन गरेको भन्दै व्यापक आलोचना भएको थियो।
यसलाई संविधानको मर्मविपरीत भएको आरोप लाग्यो।
नेकपा एमाले विभाजन र सत्ता समीकरणका कारण ओली र भण्डारीको सम्बन्धमा तनाव देखिन थालेको छ। पार्टीभित्रको आन्तरिक विवाद र सत्ता सञ्चालनको क्रममा भण्डारीले ओलीप्रति अत्यधिक झुकाव देखाएको आरोप विपक्षी दलहरूले मात्र होइन, एमालेका कतिपय नेताहरूले पनि लगाएका थिए।
हाल ओली र भण्डारीको राजनीतिक सम्बन्धमा पहिलेको जस्तो खुला सहकार्य नदेखिए पनि, दुवैको भूमिकाले नेपाली राजनीतिमा गहिरो प्रभाव पारिरहेको छ।
ओली अझै पनि एमालेको नेतृत्व गर्दैछन् भने भण्डारीले आफ्नो कार्यकालपछि राजनीतिक गतिविधिमा प्रत्यक्ष सहभागिता नगरे पनि आफ्नो व्यक्तित्वमार्फत चर्चा बटुलिरहेकी छिन्।
भण्डारीले राष्ट्रपति बन्ने बेला नौ वर्षअघि ‘निष्क्रिय’ पारेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गरिसकेकी छन्। जिल्ला–जिल्लाबाट काठमाडौं आउने एमाले नेता कार्यकर्तालाई प्राथमिकतासाथ भेट्न थालेकी छन्। एमालेमा अचेल अवसर नपाउने कार्यकर्ताका पीडा मज्जैले सुन्दिन थालेकी छन्।
भण्डारीका गतिविधि, अनि उनलाई भेट्न जाने नेता–कार्यकर्ताका नाम ओलीको जानकारी बाहिर छैनन्।
यहाँसम्मकी ओलीका खास भनिएका नेताहरु पनि अहिले भण्डारीका सन्निकट छन्। उच्च स्रोतहरूका अनुसार बालुवाटारका हरेक सूचना तुरुन्तै मण्डिखाटार पनि पुग्न थालेका छन्।
मंसिर अन्तिम साता एमालेको संगठन विभागद्वारा आयोजित कार्यक्रम समापनमा बोल्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई यसअघिका महत्त्वपूर्ण जिम्मेवारीमा आफूले नै प्रस्ताव गरेको जस लिन ओली पछि परेनन्। अनि उनलाई राजनीतिमा ल्याउनुपरे आफैंले प्रस्ताव गर्न सक्ने संकेत दिँदै अनावश्यक रुपमा ‘गल लगाएर नतान्न’ पार्टी नेताहरूलाई चेतावनी नै दिए।
उनले यसअघि विराटनगरमा मिडियासँग बोल्ने क्रममा भण्डारीको सम्भावित सक्रिय राजनीतिको प्रसंग झिकेर पार्टीभित्र समस्या पैदा गर्न खोजिएको बताएका थिए।
बिहीबार ओली–भण्डारी वान टु वान वार्ता भयो। तर त्यहाँ के भयो भन्नेचाहिँ अनुमानमा आधारित मात्र छ। तर पछिल्ला दिनमा देखिएका विविध प्रकारका चर्चाबीच ओली–भण्डरीबीचको समझदारीमा केही खटपट छन्।
भण्डारी सक्रिय राजनीति र ओलीको आगामी उत्तराधिकारीका रुपमा एमालेमा नेतृत्वमा उत्रिन चहान्छिन् भने ओली नेतृत्व तत्कालै त्याग्ने मनसायमा छैनन्। राजनीतिक घमासान छ तर उनीहरू पर्दामा सौहार्द देखाउने प्रयत्न मात्र गरिरहेको प्रतीत हुन्छ।