बन्दी र कैदी रहेका पूर्वउपप्रधानमन्त्री सहितका भीआईपीहरू, के गर्छन् हिरासत र जेलमा?
काठमाडौं– ठगी तथा विभिन्न अपराधमा संलग्न रहेका पूर्वउपप्रधानमन्त्रीसहितका भीआईपी कोही हिरासतमा छन् भने कोही पूर्पक्षका लागि थुनामा र जेलमा नै रहेका छन्।
यो क्रममा पछिल्लो पटक सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग लागेका पूर्वउपप्रधान तथा गृहमन्त्री हुन् रवि लामिछाने।
उनीविरुद्धको अभियोगमा अहिले थुनछेक बहस सकिएको छैन। उनी हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा सहकारीबाट ठगी गरी ल्याएको रकम अपचलन गरेको प्रमाणित हुने क्रममा रहेको छ।
उनी हिरासतमा पुस्तक पढ्ने, भेट्न आउने उनको पार्टी रास्वपाका पदाधिकारी र कार्यर्तालाई भेट्नुका साथै पुस्तक अध्ययन गर्ने काममा व्यस्त छन्।
उनले डायरी समेत लेखिरहेको बताइन्छ। उनलाई प्रहरीले अन्य हिरासतमा रहेकाहरु भन्दा गज्जबको सुविधाको बन्दीका रुपमा राखेको छ।
हिरासतमा रहेका बन्दीलाई हेरचाह र रेखदेख गर्ने प्रहरी कर्मचारीको कोठा लामिछानेलाई दिइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अर्का पूर्वउपप्रधानमन्त्री हुन् टोपबहादुर रायमाझी।
एमाले सचिवमा रहेका बेला पक्राउ गरिएका उनी अहिले पदमुक्त गरिएका छन्।
रायमाझीको राजनीतिक जीवन नेकपा (माओवादी) बाट सुरु भएको हो। माओवादी जनयुद्धको क्रममा उनी एक प्रभावशाली नेता थिए। जनयुद्ध समाप्तिपछि माओवादी पार्टी शान्तिपूर्ण राजनीतिक प्रक्रियामा प्रवेश गर्दा रायमाझीले पार्टीका प्रमुख पदहरूमा भूमिका खेले। उनले संविधान निर्माण, संघीयता कार्यान्वयन, र राजनीतिक स्थायित्वको लागि योगदान गरे पनि सत्तामा पुगेपछि विभिन्न प्रकरणसँगै भुटानी शरणार्थीमा जोडिन पुगे।
उनलाई पनि अन्य कैदीभन्दा सुविधाजनक रुपमा राखिएको छ।
यहि शिलशिलाका अर्का पात्र हुन् पूर्वमन्त्री मोहम्मद अफताब आलम। आलम नेपाली कांग्रेसबाट उदाएका एक लोकप्रिय नेता हुन्। उनी मधेस क्षेत्रमा लामो समयदेखि आफ्नो प्रभाव जमाउँदै आएका थिए। रौतहट जिल्लामा राजनीतिक आधार बनाएका आलमले पार्टीभित्र आफ्नो भूमिकालाई बलियो बनाउँदै आएका थिए।
आलमले मन्त्रीका रूपमा पनि काम गरेका छन्। उनी संविधानसभाको पहिलो कार्यकालमा सांसद बनेका थिए। उनले विभिन्न मन्त्रालय सम्हाल्ने क्रममा श्रममन्त्री पनि बनेका थिए। मन्त्रीका रूपमा उनले मधेसको विकास र क्षेत्रीय मुद्दाहरूमा प्राथमिकता दिएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहट जिल्लाको फरहदवा गाउमा भएको बम विस्फोटको घटनामा आलमलाई संलग्न रहेको आरोप लागेको थियो। यस घटनामा बम बनाउने क्रममा विस्फोट हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको र घाइतेलाई जिउँदै इँटाभट्टामा जलाइएको दाबी गरिएको थियो।
दशकौंसम्म यो मुद्दा चर्चामै रहे पनि २०७६ सालमा आलमलाई प्रहरीले पक्राउ गरेपछि कानुनी प्रक्रिया अघि बढ्यो। अदालतमा उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाइएको छ।
नख्खु कारागारमा रहेका उनी अन्य कैदीभन्दा केही सुविधाजनक हिसाबले राखिएको बताइन्छ।
यस्तै, सञ्जय साह, जसलाई टक्ला उपनामले पनि चिनिन्छ। उनी नेपाली राजनीतिका विवादास्पद पात्र हुन्। धनुषा जिल्लाबाट उदाएका साहले लामो समय मधेस केन्द्रित राजनीतिमा प्रभाव राखे। तर, उनका आपराधिक क्रियाकलाप र हत्या आरोपका कारण उनको छवि विवादास्पद रह्यो।
सञ्जय साहको राजनीति प्रवेश मधेस आन्दोलनको क्रममा भएको हो। उनी धनुषा क्षेत्रका प्रभावशाली नेता बने र मधेसको मुद्दालाई मुख्य प्राथमिकतामा राखेर राजनीतिमा लागे। साहले २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम–लोकतान्त्रिकबाट सांसद पद हासिल गरेका थिए।
सञ्जय साहमाथि २०७० सालमा जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटको मुख्य योजनाकार बनेको अभियोग थियो। उनी जेलमा छन्। यस घटनामा पाँच जनाको मृत्यु भएको थियो। विस्फोटपछि साहको नाम मुख्य योजनाकारका रूपमा बाहिर आएपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढायो। उनीमाथि आफ्ना राजनीतिक विरोधीहरूलाई धम्की दिन र अपराधमा संलग्न रहेको आरोप पनि लागेको थियो।
२०७२ सालमा साहलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई हत्या, षड्यन्त्र, र बम विस्फोटमा संलग्नताको आरोपमा अदालतमा पेश गरियो। लामो कानुनी प्रक्रियापछि उनीमाथि दोषी ठहर गर्दै जेल सजाय सुनाइएको छ। उनका समर्थकहरूले भने यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएका छन्।
उनी पनि अन्य कैदीभन्दा सुविधाजनक हिसाबले रहेको बताइन्छ।
पूर्वमन्त्री श्यामसुन्दर गुप्तामाथि २०७० सालमा भारतीय व्यवसायी सुरेश अग्रवालको अपहरण र फिरौतीको योजनामा संलग्न रहेको अभियोगमा दोषी करार गरियो।
व्यवसायीलाई अपहरण गरी ठूलो रकम फिरौतीको रूपमा माग गरिएको थियो। प्रहरीको अनुसन्धानले गुप्तालाई योजनामा प्रत्यक्ष संलग्न भएको देखाएपछि उनीमाथि मुद्दा दायर गरिएको थियो।
२०७२ सालमा प्रहरीले गुप्तालाई पक्राउ गरी अपहरण, फिरौती, र आपराधिक षड्यन्त्रका आरोपमा मुद्दा चलाइयो। लामो समयसम्म मुद्दा अदालतमा चल्दा गुप्ताले आफ्नो निर्दोषीताको दाबी गरे। तर, अदालतले उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनायो।
उनी पनि जेलमा सुविधायुक्त जीवन बाँच्नेमा पर्छन्। रोचक के छ भने सद्भावना विभाजन गर्दै मन्त्री बनेका उनी सडक यात्रामा कार्यक्रममा जाँदाजाँदै पद खुस्किएको थियो। पद खुस्किएपछि उनी बाटोमा नै धर्नामा बसेका थिए।
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गे भनी चिनिने राजीव गुरुङलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि प्रहरीको सीआईबीले पक्राउ गरी फैसला कार्यान्वयनमा लगेको थियो।
उनी डिल्लीबजार कारागारमा आफैंले कुनैबेला जेलमा रहँदा बनाएको टहरामा सुविधा सम्पन्न हिसाबले बसेका छन्।
पाँच वर्षको कैद सजायमध्ये मनाङ्गेले दुई वर्ष आठ महिना कैद यसअघि नै भुक्तान गरिसकेका छन्।
मनाङ्गेविरुद्ध चक्रे मिलन भनिने गुन्डानाइके मिलन गुरुङमाथि विसं २०६१ मा काठमाण्डूको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
मनाङ्गेसहितको समूहले २०६१ साल वैशाख ३१ गते एउटा रेस्टुराँमा खाना खाँदै गरेका मिलन गुरुङको समूहमाथि आक्रमण गरेको उजुरी परेको थियो।
मनाङ्गेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। तर मनाङ्गेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गरेका थिए।
यीबाहेक अन्य भीआईपीहरु पनि रहेको विभिन्न विवरणमा उल्लेख छन्।
उनीहरुले सुविधासम्पन्न हिसाबले कैद भुक्तान गरे पनि सर्वसाधारणका लागि भने सकस रहने गरेको बताइन्छ। नेपालका जेलमा रहनेको तथ्यांक पनि कम छैन।
कारागार व्यवस्था विभागको पछिल्लो तथ्याङ्कअनुसार असोज मसान्तसम्म देशभरिका कारागारमा २९,६०० जना कैदीबन्दी थिए।१८ वर्ष नपुगेका नाबालकहरूलाई राखिने सुधार गृहमा थप करिब १,३०० जना छन्।