ठगीमा अनुसन्धान हुने भएपछि लेखा समिति सभापति ऋषिकेशले हटाए स्वकीय सचिव
काठमाडौँ - सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सभापति ऋषिकेश पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । कानुनलाई सहयोग गर्नको लागी स्वकीय सचिवको जिम्मेवारीबाट हटाएको पोखरेलले बताए ।
उनीमाथि लागेका आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा सभापति पोखरेलले लेखेको पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।
सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा हालेका थिए । एमबीबीएसको परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको आरोप चौधरीको छ । उनीविरुद्धको मुद्दा दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ ।