Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय फूटबल टोलीको प्रशिक्षकका लागि ४ सय बढीले दिए आवेदन

शुक्रबार, पुस १९, २०८१

काठमाडौं - नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक पदको लागि चार सय बढीले आवेदन दिएका छन्, जसमा राष्ट्रिय टिम सम्हालिसकेका प्याट्रिक ओसेम्स, ज्याक स्टेफनोव्स्की पनि छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले १६ सेप्टेम्बर, २०२४ मा १५ दिने सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन खुल्ला गरेको थियो। प्रो लाइसेन्स भएको, ५ देखि १० वर्षको अनुभव भएको, राष्ट्रिय टिम सम्हालेको तथा सफलता हात पारेको मापदण्डमा उल्लेख गरिएको थियो।

नेपाल सुपर लिग एनएसएल विजेता ललितपुर सिटी एफसीका एन्ड्रयु गिलान, थ्रीस्टार क्लबसँग सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि अनुभव गरेका प्रदीप हुमागाईँसँगै भुटानी क्लब पारो एफसीका टेक्निकल डिरेक्टर पुष्षालाल शर्माले पनि आवेदन दिएका थिए। एन्फाको टेक्निकल कमिटीले अन्तिम चरणमा अन्तर्वार्ताको लागि पाँच जना छनोट गरेको पनि बताइएको छ।

सात महिनाअघि एन्फाले विश्वकप/एसियन कप छनोटको अन्तिम खेलमा यमनविरुद्ध २–२ मा टुंगिएको खेलपछि इटालियन भिन्सेन्जो अल्बर्टो एनेसको करार एन्फाले थपेको थिएन। त्यसपछि एन्फाले मुख्य प्रशिक्षकको लागि आवेदन खोलेको थियो।

गत नोभेम्बरमा डुसान्बेमा भएको ताजिकिस्तान र अफगानिस्तानविरुद्धका दुई मैत्रीपूर्ण खेलमा नेपाली टिम नवीन न्यौपानेले सम्हालेका थिए। घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० ले हारेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि जित हासिल गर्ने क्रममा २–० को नतिजा निकालेको थियो।

नेपाली पुरुष टिमले सन् २०२५ मा साफ च्याम्पियनसिप, एसियन कप २०२७ छनोटको तेस्रो चरण तथा मैत्रीपूर्ण खेलहरूमा प्रतिस्पर्धा गर्दै छ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्