Nic Ad Nic Ad
Nic Ad Nic Ad

हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँ : मन्त्री पाण्डे

शुक्रबार, पुस १९, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा के कति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औँल्याए ।

बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो । मन्त्री पाण्डेले भने “पर्यटन बोर्ड पर्यटन क्षेत्रको थिंकट्याङक हो । पूर्वाधारभन्दा पर्यटन प्रवर्द्धनमा यो केन्द्रित छ । अरु क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि ‘हुन्छ भन्ने तर चित्त बुझाउन नसक्ने’ प्रवृत्तिले काममा बाधा पुर्‍याइरहेको छ ।”

बोर्डले आफूलाई गतिशील तुल्याउने र प्रतिफलको मूल्यांकन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै तीन तहका सरकारको सहयोग र समन्वयमा आफ्नो कार्य जिम्मेवारीको प्राथमिकतासम्बन्धी प्राथमिकीकरण गर्न मन्त्री पाण्डेले सुझाव दिए ।

मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मुलुकको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने गाउँ तहदेखि केन्द्रीय सरकारसम्मका प्रतिनिधिले जबाफदेही भएर अतिथिको सेवा र सत्कारमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “पर्यटकको सङ्ख्याभन्दा दिगो र गुणस्तरीय पर्यटक भित्र्याउन लगानी बढाउनुपर्छ । काठमाडौँ, पोखरा र चितवनमा सीमित पर्यटकलाई अरु स्थानमा पुर्‍याउन यातायात, होटललगायत भौतिक पूर्वाधार तथा अध्यागमन र गुणस्तरीय खानपिनमा सुधारको खाँचो छ ।”

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले देशको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्य जिम्मेवारी रहेको बोर्डको रहेको भन्दै कोभिड-१९ पछि खस्किएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनका हिसाबले ९६ प्रतिशत पुनप्र्राप्ति भएको दाबी गरे ।

उनले भारतको अयोध्यासहित विभिन्न स्थानमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सूचना केन्द्र स्थापना, साहसिक पर्यटन गन्तव्यको पहिचान गर्दै गुणस्तरीय पर्यटन भित्र्याउन विभिन्न कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए ।

यसअघि बैठकमा सदस्यहरूले नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने वैदेशिक रोजगारी र अध्ययन गर्न जानेलाई बोर्डले प्रचारप्रसारका लागि प्रशिक्षित गराउनुपर्ने, भारत र चीनलाई लक्षित गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले देशको आम्दानीको ठूलो स्रोत पर्यटन भएकाले बोर्डलाई परम्परागत ढंगबाट नभई गुणात्मक पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजी र रणनीति बनाउन सुझाव दिए ।

सदस्यहरूले तराई मधेसका गढीमाई र सिम्रौनगढ केचना कवलबाट शुक्लाफाँटासम्मका क्षेत्र पर्यटकीय गन्तव्य रहेकाले गुरुयोजना बनाएर प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा काम गरिएको खण्डमा नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको धारणा राखे । सभापति राजकिशोर यादवले अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाउन ढिलाइ गर्न नहुने विचार प्रकट गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार