सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
महोत्तरी- उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेसका नेता सिंहले आज बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधि सभाको अर्को निर्वाचनसम्म रहनेछ”, उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।” साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्