Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण

शनिबार, पुस २०, २०८१

काठमाडौँ- ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भइसकेको छ। यस वर्षलाई लक्षित गर्दै नयाँ चलचित्रले प्रदर्शन घोषणा गरिसकेका छन्। यद्यपि गएको वर्ष सन् २०२४ मा कलात्मकलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भए।

सन् २०२४ मा ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘द रेड सुटकेस’ लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो। चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले व्यावसायिक रूपमा भने असफल रहे।

गत वर्षको सफल चलचित्रको सूचीमा ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारंगी’ व्यावसायिक रूपमा सफल भएका थिए। उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। कोरोना महामारी पश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो।

विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ। कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उनले बताए।

‘विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विशुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट संकेत गरेको छ। शृङखलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो,’ लेखक तिमल्सेनाले भने, ‘निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनु हुँदैन। केही फरक गरिरहनु पर्छ। नत्र विस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ।’

निर्देशक अनिल योञ्जनले दर्शकले रुचाएका चलचित्रअनुसार विविधता दिनुपर्ने बताए। उनले भने, ‘म अहिले कलात्मक चलचित्रलाई व्यावसायिक रुपमा तयार गर्नुपर्ने विचारसँग सहमत छु। किनकि दर्शकले चाहेको विधामा विविधता पस्किन सक्नुपर्छ।’

पछिल्लो समय कलात्मक भनिएका चलचित्रमा व्यावसायिक रुपमा परिचत कलाकारलाई राखिएको छ। अभिनयमा पारङ्गतसँगै व्यावसायिक रुपमा चिनिने अनुहार भए तापनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको चलचित्र निर्देशक पुर्णेन्दु झाले बताए।

‘कलात्मक भनेर निर्माण हुने चलचित्रले दर्शकलाई बाध्न सक्नुपर्छ। दर्शकलाई एउटा चलचित्र मन परेन भने पुनः फर्काउन गाह्रो हुन्छ। मनोरञ्जनात्मक चलचित्रको तुलनामा कलात्मक भनिने ‘आर्ट’ चलचित्रले बढी मेहेनत गरेर दर्शकमैत्री हुनु आवश्यक छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्