Nic Ad Nic Ad
Nic Ad Nic Ad

जो एमालेबाट अलग भइरहेका छन्, पारिएका छन्

आइतबार, पुस २१, २०८१

काठमाडौं– नेकपा एमालेबाट गत प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–६ र उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल अहिले निस्क्रिय छन्।

उनले एमालेको कुनै पनि सांगठनिक निकायमा नरहेको तथा उक्त पार्टी छाडेको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुराउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ। म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु’, खनालले भनेका छन्।

६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए। च्यासलस्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए।

यसै साता एमाले सचिवालय बैठकबाट पूर्वउपाध्यक्ष समेत रहेका भिम रावललाई साधारण सदस्य समेत नरहने गरी निकालियो। विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट अलग बनाइएको थियो।

पछिल्ला दिनमा एमाले आफैं पनि विवादको घेरामा परिरहेका बेला अझ विवादास्पद निर्णय मात्र होइन, आक्रामक पनि बनिरहेको छ। 

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुमी शैली बढेको अलग हुनेहरूले आरोप लगाइरहेका छन्।

यसअघि एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता उक्त पार्टी गठन गर्न बाध्य भए।

एमालेका पुराना नेता राधाकृष्ण मैनाली भन्छन्,‘ओलीजीको शासन शैलीले बिस्तारै यो पार्टी बदनाम हुने देखियो। अहिले रावलहरू आफूलाई कारबाही गर्दा आक्रोशित भएका छन्। तर, हामी जस्ता नेतालाई कारबाही गर्दा साथ दिने उनीहरू नै थिए।’

एमालेभित्र अहिले विचारको मन्थन र गन्थन हुन छाडेको कतिपयको बुझाई छ। फरक मत राख्नेमाथि राजनीतिक दुराग्रह नै साँध्ने गरिएको पनि बताइन्छ। 

रावल कर्नरमा रहे पनि एमालेको संगठनमा थिए। तर, पार्टीले विवादीत भनिएका मिनबहादुर गुरुङले दिएको जग्गा लिने निर्णय गरेपछि त्यसको बिरोध भएको थियो। सोही निर्णयको कसीमा नै कतिपयले एमालेबाट आफूलाई अलग र निस्क्रिय राख्न समेत थालेका छन्।
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्