एपिएफ क्लब त्रिवेणी कपको च्याम्पियन
काठमाडौं- पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा पहिलोपटक त्रिवेणी कप खेलिरहेको एपिएफले सफलता हात पार्न सफल भयो ।
टाइब्रेकरमा एपिएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सुजन कुमार पुलामी र सविन गुरुङले गोल गर्न सफल भए। मणि कुमार लामाको प्रहारलाई बिवाइसीका गोलरक्षक क्रिशल मोक्तानले विफल पारे ।
बिवाइसीका राम थापा मगर, अश्विन घोरासैनी र मिसन लामाले गोल गर्न सफल भए। लक्षु थापा मगरको प्रहारलाई एपिएफका गोलरक्षक अन्जल श्रेष्ठले विफल पारे । कप्तान सजिन थापा मगरको प्रहार बाहिरियो ।
त्यसअघि लमजुङको बेसिशहर नगरपालिका– ७ को सहजीस्थित त्रिवेणी रंगशालामा भएको फाइनलमा सुरुवाती अग्रता बिवाइसीले लिएको थियो ।
१३औं मिनेटमा समिर तामाङले गोल गर्दै बिवाइसीलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५१औं मिनेटमा हरि कार्कीले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । अन्तिम तीन मिनेट सम्हालिन नसक्दा एपिएफ निर्धारित समयमा च्याम्पियन बन्नबाट चुकेको थियो ।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा समिराज थोकरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै खेल लम्ब्याएका थिए । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै एपिएफले १२ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । दोस्रो भएको बिवाइसीले ६ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
सेमिफाइनलमा पराजित श्री भगवती क्लब टोखा र आयोजक त्रिवेणाी युवा क्लबले समान २ लाख रुपैयाँ प्राप्त गरे। बिवाइसीका इमानुयल सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँसँगै ट्रफी र मेडल प्राप्त गरे ।