उपत्यकाबाहिर भएका डरलाग्दा दुई इन्काउन्टर, जसले सनसनी मच्चाएका थिए
काठमाडौं– नेपाल प्रहरीले चलाउने इन्काउन्टरका कतिपय घटना बिर्सनलायक छैनन्। प्रहरीले गुन्डागर्दीलगायतका विभिन्न क्रियाकलापमा संलग्न रहेकाले अचाक्लि मच्चाउनथालेपछि इन्काउन्टरको शिलशिला चलाउने गर्दछ।
प्रायः इन्काउन्टरका घटना उपत्यकाभित्र नै ज्यादा हुने गरेका छन्। किनभने उपत्यका केन्द्रित भएर सहनै नसक्नेगरी गुन्डागर्दी मौलाउने गरेका हुन्थे।
तर, दुई यस्ता डरलाग्दा इन्काउन्टरका घटना भने उपत्यकाबाहिर पनि रहेका थिए। जसले लामो समयसम्म सनसनी मच्चाए।
त्यसमध्यको एक इन्काउन्टर हो, कुमार पौडेलको। पौडेल नेकपा नामको नेत्रविक्रम चन्दको पार्टीमा रहेका थिए। जतिबेला इन्काउन्टर भयो त्यसबेला उक्त पार्टी हिंसात्मक बाटोमा थियो।
सर्लाही जिल्ला इन्चार्ज रहेका उनले सर्वसाधारणलाई ज्यादै दुख दिएका कारण प्रहरीको वान्टेडको सूचीमा थिए। राजनीतिक आवरणमा उनले गरेको गतिविधिलाई प्रहरीले नोटिसमा राखेको त्यसबेलाका प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले बताएका थिए।
२०७६ साल जेठ २३ गते (जुन ६, २०१९) मा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित एउटा जंगलमा प्रहरीसँगको भिडन्तमा उनको मृत्यु भएको थियो। यस घटनालाई नेपालमा धेरैले ‘इन्काउन्टर’ भन्दै विवादित मान्दै आएका छन्।
प्रहरीका अनुसार कुमार पौडेल र उनको समूहले त्यही दिन बिहानै ईलाका प्रहरी कार्यालय, लालबन्दीका प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए। प्रहरीसँगको प्रतिरोधका क्रममा उनी मारिएको दाबी गरिएको थियो।
प्रहरीले घटनास्थलबाट गोली प्रहार गर्न प्रयोग गरिएको हतियार बरामद भएको जानकारी दिएको थियो।
विप्लव समूहले भने कुमार पौडेललाई योजनाबद्ध रूपमा पक्राउ गरी हत्या गरिएको आरोप लगाएको थियो।
नेपाल मानव अधिकार आयोगले यो घटना अनुसन्धान गर्दा पौडेलको हत्या योजनाबद्ध रूपमा भएको ठहर गरेको थियो। आयोगले प्रहरीको भनाइलाई अविश्वसनीय ठहर गर्दै निष्पक्ष छानबिन गर्न सिफारिस गरेको छ।
यस घटनाले राजनीतिक वृत्तमा ठूलो विवाद ल्यायो। सरकारको ‘इन्काउन्टर’ नीति, कानूनी प्रक्रियाको उल्लंघन, र मानवअधिकार हननको विषयमा विभिन्न कोणबाट आलोचना भयो।
यस्तै उपत्यकाबाहिरको अर्को इन्काउन्टर थियो– गुन्डानाइके मनोज पुनको।
मनोज पुन नेपालका चर्चित अपराधीमध्ये एक थिए, जसले विशेषगरी पश्चिम नेपालमा अपराधहरूको श्रृंखला सञ्चालन गरेका थिए। उनीप्रति २०७४–२०७५ (२०१७–२०१८) को अवधिमा विभिन्न आपराधिक क्रियाकलापका कारण राष्ट्रिय चासो थियो।
मनोज पुन, रुपन्देही जिल्लाका बासिन्दा थिए। उनले आफ्नो समूहमार्फत हत्याहरू, अपहरण, फिरौती, र अन्य आपराधिक गतिविधि सञ्चालन गर्थे।
उनले स्थानीय नेता रामकृष्ण पाण्डे लगायतका व्यक्तिहरूको हत्या गरेको आरोप खेपिरहेका थिए।
यसबाहेक निर्माण व्यावसायी संघका अध्यक्ष रहेका शरद गौचनको हत्यामा पनि उनको हात रहेको प्रहरीको ठम्याई थियो।
२०७४ माघ ५ गते रामकृष्ण पाण्डेको गोली हानी हत्या गरिएको थियो। यस घटनाले उनलाई थप चर्चामा ल्यायो।
पुनको समूहले व्यवसायी हरि लम्साललाई समेत हत्या गरेको थियो।
मनोज पुनको इन्काउन्टर २०७४ फागुन ८ गते भएको थियो। प्रहरीले उनी भारतबाट नेपाल प्रवेश गरेपछि बुटवल नजिकै दुई नम्बर पुल क्षेत्रमा गोली
चलाएको दाबी गरेको थियो। मनोज पुन र उनका सहयोगीसँग प्रहरीको भिडन्त भएको थियो।
पुनसँगै उनका सहयोगी आकाश गुरुङ पनि घटनामा मारिएका थिए।
मनोज पुनका परिवारले भने प्रहरीले उनलाई नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएका थिए। परिवारले यो घटनालाई फर्जी इन्काउन्टर भएको बताउँदै निष्पक्ष छानबिनको माग गरेका थिए।
मनोज पुनको मृत्युले रुपन्देही र आसपासका क्षेत्रमा आपराधिक गिरोहहरूको गतिविधि केही हदसम्म कम भएको मानिन्छ।