एमालेबाट निष्काशित भएपछि राष्ट्रवादी मोर्चाको अभियानमा हिँडेका भिम रावल राजावादी कित्तामा किन पुगे?
काठमाडौं– हालै मात्र नेकपा एमालेले कारबाही गरेपछि पूर्वउपप्रधान तथा रक्षामन्त्री भिम रावल अहिले राष्ट्रवादी मोर्चा कसेर केही नयाँ राजनीतिक अभियान चलाउने अभ्यासमा छन्।
उनी यो अभियानका क्रममा अहिले राजावादी कित्तामा उभिन पुगेका छन्। पूर्वी नेपाल झरेका उनी राजावादी विष्णु रिजालको इटहरिस्थित घरमा पुगेर भन्छन्,‘जनआन्दोलन २ मा राजतन्त्र हटाउने कुरा भएको थिएन। घुसपैठ भयो।’
गणतन्त्र घोषणापछि गृह र उपप्रधानसहित रक्षामन्त्री समेत भइसकेका रावलले पहिलो पटक एमालेबाट निकालेपछि यस्तो अभिव्यक्ति दिएका हुन्।
यसलाई एमालेजनले अवसरवादी तर्क भनी टिप्पणी गरेका छन्। कतिपय एमालेजन भन्छन्,‘त्यहि भएर कारबाही भएको हो।’
रावलले दुर्गा प्रसाईको समेत समर्थन गरेकाहरुमाझ छलफलका क्रममा भने,‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमाले पनि मानेको हो, त्यहीँ अन्तरगत त म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो। २०६२–६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो मत तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन।’
यति मात्र होइन रावलले भावनात्मक समर्थ बटुल्नका लागि गणातन्त्र र धर्म निरपेक्षता पनि बाहिरी घुसपैठबाट आएको दाबी गरेका छन्।
संवैधानिक राजतन्त्र मानेर जानका लागि जनआन्दोलनका क्रममा सुझाव दिइए पनि त्यो उग्र हुन थालेपछि घुसपैठबाट एजेन्डाहरु फरक बन्न थालेको पनि उनले स्मरण गरेका थिए।
अहिले देशमा भइरहेको विकृति रोक्नका लागि दुई वटा मात्रै उपाय रहेको उनले बताए। ‘जनताले एकजुट भएर निर्वाचनको माध्ययमबाट पूर्णरुपमा पराजित गर्नुपर्याे । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्याे र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो त्यहाँ गनुपर्छ’, रावलले भनेका छन्।
विराटनगर विमानस्थलमा राजावादी पक्षधरले रावललाई स्वागत गरेका थिए। यसबाहेक नेकपा एकीकृत समाजवादीका स्थानीय नेता कार्यकर्ता उनको स्वागतका लागि पनि पुगेका थिए।
अहिले राजावादीको आन्दोलन बलियो बनिरहेको अवस्थामा रावल नयाँ यात्रामा उनीहरुको समर्थन पाउने आशमा छन्। कतिपयले उनी दुर्गा प्रसाईंको अभियानलाई आफूकेन्द्रित बनाउने योजनामा रहेको पनि विश्लेषण गरिरहेका छन्।
रावल नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए। तर, उनी पराजित भए। पराजित भएपछि एमालेको केन्द्रीय कमिटीमा राख्ने निर्णयलाई उनले स्वीकार नगरी साधारण सदस्य भएर बसेका थिए।
तर मिनबहादुर गुरुङले एमालेलाई कार्यालय निर्माणका निम्ति एक अर्बबढीको जग्गा दान दिएपछि त्यसको चर्को बिरोध गरेका रावललाई सचिवालय बैठकले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो। उक्त कारबाहीपछि रावल अहिले नयाँ अभियानको क्रममा छन्।