Nic Ad Nic Ad
Nic Ad Nic Ad

रावललाई निष्काशन, पाण्डे र तिम्सेनाको निलम्बन केन्द्रीय कमिटीबाट अनुमोदन

आइतबार, पुस २१, २०८१

काठमाडौं - सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले तीन नेतामाथिको कारबाहीलाई अनुमोदन गरेको छ ।गत पुस १० गतेको एमाले सचिवालयको बैठकले नेता भीम रावललाई पार्टीबाटै निष्काशन गर्ने र अन्य दुई नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए । ‘राजनीतिक प्रतिवेदन प्रस्तुत भएपश्चात् १० महिनाको अवधिमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘ती निर्णयहरू अनुमोदन भइसकेका छन् । केन्द्रीय कमिटीमा मोनयन भएका, केन्द्रीय कमिटीबाट बिदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ ।’

यसैबीच केन्द्रीय कमिटी बैठकमा तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन माग गरिएको थियो । आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू झपड रावल र प्रकाश शाहले यो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए । ‘सचिवालय बैठकको निर्णय तत्काल सच्याउनु पर्छ । कारबाहीको निर्णय पार्टी र आन्दोलनको हितमा छैन । यसले क्षति पुर्‍याउँछ’, रावलले बैठकमा भनेका थिए ।
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्