Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्पको क्षतिको विवरण बुझ्न दुई हजार सशस्त्र प्रहरी परिचालन

मंगलबार, पुस २३, २०८१

काठमाडौँ- मंगलबार बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले एक हजार ९९० जनालाई परिचालन गरेको  छ ।

कोशी, मधेश र बागमती प्रदेशमा रहेका युनिटहरूबाट एक हजार ९९० जना  परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए । उनका अनुसार  हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्यबाहेक ठुलो क्षति नभएको पाइएको छ ।

भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा काठमाडौँको स्युचाटारमा एक जना व्यक्ति घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजांग प्रान्तको सिगात्सेस्थित दिंगी गाउँमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार