Nic Ad Nic Ad
Nic Ad Nic Ad

बर्सेनि रेबिज आतंक खेप्दै काभ्रेपलाञ्चोक

मंगलबार, पुस २३, २०८१

काभ्रेपलाञ्चोक- रेबिज रोगका कारण एक महिना अघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो ।

मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शंकामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा चार वर्षपछि पुनः रेबिज रोगको सङ्क्रमणबाट मानिसको मृत्यु भएको हो । यसअघि उक्त सङ्क्रमणका कारण २०७६ देखि २०७९ सालसम्म तीन वर्षको अवधिमा काभ्रेपलाञ्चोकको छ जनाको मृत्यु भएको थियो । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमित महिलाको गत मङ्सिर २९ गते उपचारका क्रममा निधन भएको हो ।

उनका अनुसार कुकुरले टोकेका बारेमा परिवार आफन्तमा कसैलाई नभनेको र टोकेको केही दिनपछि बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराउँदा रेबिजको भाइरस भएको शंकामा टेकु अस्पताल रेफर गरिएको थियो । “टेकुमा उपचार गरिरहेको अवस्थामा करिब हप्ता दिनपछि ती महिलाको मृत्यु भएको खबर आयो”, उनले भनिन् ।

सामुदायिक कुकुरको सङ्ख्या तुलनात्मक रूपमा बढिरहेकाले सावधानी अपनाउन स्थानीय तह स्तरमा समेत आग्रह गर्दै विशेष रूपमा निगरानी बढाइएको श्रेष्ठले बताइन् ।

उनका अनुसार स्थानीय तहमा रेबिजविरुद्धको विशेष सचेतना कार्यक्रम लैजाने तयारी भइरहेको छ । रेबिज सङ्क्रमणका बारेमा सचेतना गर्न, रेबिजबाट बच्न नागरिकलाई खोप सेवा लिन र रेबिज लक्षण भएका कुकुर, जंगली जनावर तथा अन्य पशु देखिए तत्काल खबर गर्न अनुरोध गरिएको श्रेष्ठले बताइन् ।

यसअघि २०७९ सालमा महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा ल्याइरहेका बेला काभ्रेपलाञ्चोककै अर्को स्थानीय तह मण्डन देउपुरको एक वडामा सङ्क्रमण देखियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको थियो ।

उक्त वडामा मरेको एक कुकुरमा परीक्षण गर्दा रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका स्थानीय ३० नागरिक तथा करिब दुई दर्जन पशुचौपायालाई खोप लगाइएको थियो । त्यसअघि मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ वटा गाई मरेका थिए ।

आशंकामा जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मरेका तीनवटा गाईको उत्खनन गरी परीक्षण गरेको थियो । त्यस बेला केही गाई बिरामी परेका थिए ।

सोही अवधिमा जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयलाई रेबिजविरुद्ध खोप दिएको थियो । गत साल मङ्सिरमै महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए ।

कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिका–१ वडाको गोकुले र ८ नं वडास्थित घर्तिछापका एक सय स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाले जनायो । शाखाका अनुसार मरेका पशुको मासु खाएका थप स्थानीयको खोजी कार्य गर्दै थप डेढ सय पशु चौपायालाई रेबिजविरुद्धको खोप दिइएको थियो ।

रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपन्छी शाखाले दैनिक निगरानीसँगै नियन्त्रणका हर सम्भव प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले त्यस बेला गाउँमा चेतनामूलक र्‍याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै गरिएको थियो । साथै, मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेका सबैलाई रेबिजविरुद्धको खोप लगाइएको थियो ।

घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको स्वास्थ्य कार्यालयले जनाउँदै आएको थियो । यस्तै २०७७ भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यति बेला दुई सय ८९ स्थानीय व्यक्तिलाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शंकास्पद व्यक्तिलाई खोप लगाइएको थियो । केही वर्षदेखि लगातार रेबिज सङ्क्रमणबाट आतंकित भएपछि २०७९ भदौबाट काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा र मङ्सिरमा दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाबाट रेबिज खोप दिइएको थियो । भुम्लु र महाभारतका विभिन्न स्थानमा रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको हो ।

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण महाभारतका दुई गाउँमा दुई गाई मरेपछि मरेका गाई काटेर खाएपछि गाउँपालिका–१ को गोकुले र ८ नं वडास्थित घर्तिछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा एक सय ६० डोज खोप रेबिज प्रभावित क्षेत्रमा उपलब्ध गराइएको थियो । मरेका दुई गाईका केही अंग गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो । मरेका गाईको मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेका थिए ।

उक्त गाउँमा करिब एक महिनासम्म स्थानीय जनप्रतिनिधि, अगुवालगायत विद्यार्थीले चेतनामूलक र्‍यालीको आयोजना गरे । साथै, गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा पशु चौपायालाई सुरक्षित गर्नेबारे समन्वय गरी त्यस समयमा रोकथाम गरिएको थियो । त्यस बेला काभ्रेपलाञ्चोकमा तीन महिनापछि पुनः महाभारतमा रेबिज रोग फेला परेको थियो ।

त्यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यति बेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शंकास्पद व्यक्तिलाई खोप लगाउनुपरेको कार्यालयले जनाएको छ । त्यस बेलाका घटनाक्रमले काभ्रेपलाञ्चोकमा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको थियो । दुई वर्षअघि देखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै पनि आएको थियो ।

चिकित्सकका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । सुरुमा घरपालुवा वा अन्य जनावरको र्‍यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । शतप्रतिशत प्राणघातक मानिएको उक्त रोग लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिजको भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । मानिसमा यो रोग लागेपछि ढिलो चाँडो मृत्यु निश्चित हुने गर्दछ । स्वास्थ्य तथ्यांकअनुसार नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्यांक पनि छ । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाहरुबीच ऐक्यबद्धता प्रकट गर्न सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रूपमा मनाउने गरिएको छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्