नन्दबहादुर पुनको माओवादीमा सक्रिय राजनीतिले यसरी खोल्छ विद्या भण्डारीको एमाले यात्रा
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमार्फत पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनःको सक्रिय राजनीतिले विविध आयामका चर्चा सुरु भएका छन्।
पुनले माओवादीमा सक्रिय राजनीति गर्ने चाहना देखाएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिए पनि यसले उठाएका प्रश्न र हुन सक्ने राजनीतिक आचरणको भने आँकलन अस्वभाविक हुने चर्चा गरिएको छ।
सामान्यतयाः संवैधानिक पद र त्यसमा पनि राष्ट्रको दोस्रो नागरिकको मान्यता पाएको मानिस फेरि राजनीतिमा सक्रिय हुनुलाई नैतिक रुपमा स्वभाविक मान्न सकिँदैन।
पहिलो त विविध विवादको चाङमा रहेका पुनले माओवादीको सक्रिय राजनीतिमा ‘कमब्याक’ गर्नुलाई ‘राजनीतिक सुरक्षा कबच’को खोजी गर्नु रहेको अर्थमा बुझिन्छ। किनभने ६६ किलो सुन प्रकरणका विवादीत र फरार अभियुक्तसँग उनको पारिवारिक सम्बन्ध रहेका विवरण सतहमा आएका थिए।
अर्कोचाहिँ उनका छोरा तथा अखिल क्रान्तिकारीको राजनीति गरिरहेका दीपेश पुन सुनदेखि सहकारी प्रकरणमा जीबी राईसमेतसँग जोडिएको मुद्दामा अहिले बहस पनि जारी छ। यहि कारण पनि माओवादीमा पुनको सक्रियतालाई प्रश्नको घेरामा राखिएको छ।
प्रचण्ड भन्छन्,‘उहाँको इच्छाअनुसार राजनीतिमा सक्रिय हुने विषय हो। अन्यको कार्यविभाजन हुँदा उहाँलाई पनि जिम्मेवारी दिइनेछ।’
पुनको यो सक्रियताले माओवादीलाई देखाएर अन्य दलमा पनि सक्रिय राजनीति गर्न चहानेले मौका पाउनेछन्। खासगरी नेकपा एमालेमा पूर्वराष्ट्रपति रहेकी विद्या भण्डारी यसअघि नै राजनीतिक सक्रियताका लागि तयार भएकी थिइन्।
भण्डारी र पुनः एकै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति हुन्। ‘माओवादीमाचाहिँ सक्रिय राजनीति गर्न पाउने र एमालेमा नपाउने भन्ने तर्क र वितर्कको अब सवाल नै रहेन’, एमालेका एक नेता भन्छन्,‘राष्ट्रपति या उपराष्ट्रपति भएका मानिस फेरि राजनीतिमा सक्रिय हुन सक्छन् र पार्टीको कमान्ड समेत हाँक्न पाउँछन् भन्ने मान्यता स्थापित हुनेछ।’
संविधानतः राष्ट्रपति र उपराष्ट्रपति भएका मानिसले राजनीति गर्न पाइँदैन भन्ने बाध्यात्मक अवस्था नरहे पनि यो नैतिक मूल्य र मान्यतामा आधारित प्रश्न हुने कतिपयको टिप्पणी छ।
यो नजीरका आधारमा अन्यले पनि राजनीतिमा सक्रिय हुने र लाभ लिन सक्ने बाटो अपनाउन सक्ने मार्गप्रशस्त हुनेछ।
कांग्रेसबाट पहिलो राष्ट्रपति निर्वाचित डा. रामवरण यादव र उपेन्द्र यादवको तत्कालिन मधेसी जनाधिकार फोरमबाट उपराष्ट्रपति बनेका परमानन्द यादवले पनि राजनीतिमा प्रवेश गर्न सक्ने आधार र नैतिक मूल्यको उदाहरणका रुपमा पुनको माओवादीमा सक्रिय राजनीति हुनेछ।
यादवले कांग्रेस र झाले उपेन्द्र यादवको जनता समाजवादी पार्टीको राजनीतिमा आउने चाहना राख्छन् या राख्दैनन् त्यो हेर्न बाँकी भए पनि उनीहरूलाई बन्देज भने हुनेछैन।