हु जिन ताओलाई भेटेर प्रचण्डले माधव नेपाललाई भारतीय दलाल भनेको त्यो प्रसङ्ग
काठमाडौं– सत्ता गुमाएपछि रन्थनिने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कांग्रेस–एमाले गठबन्धनलाई ‘बिचौलियाले मिलाएको’ भनी सार्वजनिक टिप्पणी गर्दै हिँडिरहेका छन्।
माओवादीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकमा पनि प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निक्कै आलोचना गरेका छन्। उनको राजनीतिक प्रतिवेदनमा पनि यो प्रसङ्ग छन्।
कुनै बेला नेपाली कांग्रेसलाई ‘प्रधान शत्रु’ भनी राजनीतिक दस्ताबेज तयार पारेर युद्ध गराएका प्रचण्डले पछिल्ला चरणमा कांग्रेससँग मात्र ४ पटक सत्ता ‘शेयर’ गरिसकेका छन्।
सहायक शत्रु मानिएको एमालेसँग भने उनले चारै पटक सत्ता शेयर गरेका छन्। एकल रुपमा सरकारमा पुग्न नसकेका उनी जब कुर्सी खोसिन्छ अनि अनेक खेलमा लाग्ने गर्छन्।
यसका केही उदाहरणहरू छन्। तर त्यसअघि हालैको केन्द्रीय समितिको बैठकमा प्रचण्डले के भनेका थिए?
‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको शुरूआत ग¥यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो।’
प्रचण्डले यसरी आफूविरोधी शक्तिका बारेमा देशभित्र मात्र होइन बाहिरसम्म पुगेर पनि चलखेल गरेका कयन प्रसङ्ग छन्। त्यस मध्यको एक हो– चीनका तत्कालिन राष्ट्रपति हु जिन ताओलाई भेट गरी तत्कालिन अवस्थामा एमालेको नेता रहेका माधवकुमार नेपाललाई ‘भारतीय दलाल’ भन्नु हो।
आफ्नो पहिलो कार्यकालमा प्रचण्डले बादल समूहको बहकाऊमा लागेर रुक्माङगद कटवाल प्रकरण गराए त्यसलगत्तै प्रधानमन्त्रीबाट राजीनामा दिएका उनले सरकारबाट हटेपछि चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई भेट्ने महत्वाकांक्षी योजना बनाए।
प्रचण्ड हंगकंग गए। त्यसपछि बेइजिङ पुगे। अन्ततः उनले मोहन वैद्य र कृष्णबहादुर महरालाई समेत लिएर बेइजिङमा तत्कालीन चिनियाँ राष्ट्रपतिलाई भेटेरै छाडे।
भेटमा प्रचण्डले नेकपा एमाले र विशेष गरी माधव नेपाल भारतको कठपुतली भएको बताएका थिए। भारतले नेपालमाथि हस्तक्षेप गरिरहेको र नेपालका सबै पार्टीहरु भारतको दलाल भएको भन्दै प्रचण्डले देश बचाइदिन चीनसित आग्रह गरेका थिए। आफूहरु चीनसँग मिलेर काम गर्न इच्छुक रहेको प्रचण्डले बचनबद्धता पनि प्रकट गरेका थिए।
त्यसबेला चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई आफ्नो देशका पार्टीहरुको विरोधमा कुरा लिएर नहिँड्न सुझाव दिएका थिए। चीनका लागि नेपालका सबै दलहरु समान भएको भन्दै हुले भारतसँग जोरी खोज्नुको साटो चीन, भारत र नेपालले आपसमा मिलेर अघि बढ्नुपर्छ भन्दै दक्षिण एशियाले अब एक्काइशौं शताब्दीको विश्वको नेतृत्व गर्नुपर्ने सुझाएर प्रचण्डलाई फिर्ता पठाए।
चीनबाट फर्केको केही दिनमै प्रचण्डले हु जिन्ताओको सुझाव बिर्सिएर माधव नेपाल नेतृत्वको सरकारविरुद्ध चलाएको ६ दिने आन्दोलनका क्रममा नयाँ बानेश्वरबाट भनेका थिए,‘अब दिल्लीसँग सोझै वार्ता हुन्छ।’
यहि बेला प्रचण्डले माधवकुमार नेपाललाई ‘कल्पवृक्ष भनेको विष वृक्ष’ परेको भनी टिप्पणी गरेका थिए। जसरी अहिले उनी ओलीमाथि ‘झूठा, बेइमान र दलालहरूको नेता’ भनी टिप्पणी गरिरहन्छन्।