Nic Ad Nic Ad
Nic Ad Nic Ad

३४ बर्षिय ‘कान्छा’को हातमा छ रवि लामिछानेसहितको भाग्य र भविष्यको पहिलो लिखत

बुधबार, पुस २४, २०८१

काठमाडौं– जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहस अन्तिम चरणतिर लम्किँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितबारे कस्तो आदेश आउला भन्ने व्यग्र प्रतिक्षा छ।

लामिछानेसहितका वकिललगायतले बहस सकिसकेका छन्। सरकारी वकिलले बहस सकेपछि नेपालकै कान्छा न्यायाधीश नितिज राईले आदेश सुनाउनेछन्। पहिलो चरणमा यी ३४ बर्षिय कान्छा न्यायाधीशले छोटो आदेश दिनेछन् भने फैसलाको पूर्णपाठ आउनका लागि समय लाग्नेछ। 

धरौटीमा रिहा, साधारण तारेख वा पूर्पक्षका लागि थुनामा पठाउने मध्य एउटा आदेश राईको इजलासले सुनाउनेछ। अहिले उनले देशका दिग्गज र बरिष्ठ अधिवक्तासहितको दलील र बहस पैरवी सुनिसकेका छन्।

उनले दिने आदेश पहिलो लिखत हुनेछ। यसबाहेक अन्य सहकारी प्रकरणका मुद्दामा रुपन्देही, चितवन, पर्सा र काठमाडौंमा पनि मुद्दा दर्ता रहेका कारण त्यसमा थुनछेक बहस बाँकी छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेसहित उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको मुद्दाको सुनुवाइका लागि गोलाप्रथा गर्दा राईको इजलाशमा मुद्दा पुगेको थियो।

२०४७ सालमा जन्मिएका न्यायाधीश राईले पहिले मिसिल अध्ययन गरे, बयान पनि सुनिसके र थुनछेक बहस पनि सुनिरहेका छन्। त्यसमा विचरण गरिरहेका छन्। आवश्यक आदेशका निम्ति तयारी समेत गरिरहेको बताइन्छ।

राई नेपालका बहालवाला न्यायाधीशमध्ये सबैभन्दा कान्छा न्यायाधीश हुन्। कानुनमा एलएलएम गरेका उनको न्यायाधीशको परीक्षा पास गरिसकेपछि पहिलो पोस्टिङ नै कास्कीमा भएको थियो।

लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका उनीसहित आठजनालाई न्याय परिषद्ले यसै बर्षको असार ८ गते जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि उनी साउनदेखि जिल्ला अदालत कास्कीमा कार्यरत छन्।

जिल्ला अदालतको न्यायाधीशमा जानुअघि उनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उपसचिवका रुपमा कार्यरत थिए।

४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलाउँदा त्यसबेला २०३ जनाले आवेदन दिएका थिए। लिखित परीक्षा उत्तीर्ण गर्ने नीतिजसहित ८ जना मात्रै थिए।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको थियो।

उपलब्ध प्रमाण, बहस र दलीललाई मध्यनजर गरी लामिछानेसहितका सरकारी प्रतिवादीका विषयमा राईको आदेश मुख्य हुनेछ। यसलाई लामिछानेसहितको पहिलो भाग्य र भविष्यको लिखत पनि मानिएको छ।

पक्राउ भएका बेला राजनीतिक प्रतिशोध भनी रास्वपाका नेता र कार्यकर्ताले पोखरामा प्रदर्शन र आन्दोलन गरेका थिए। तर, अनुसन्धान सकेर उक्त मुद्दा अदालतमा पुगेपछि अहिले रास्वपाका केही नेता कार्यकर्ताबाहेक सबै आदेशको पर्खाइमा रहेका छन्।
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्